• २७ पुस २०८१, शनिबार

विद्यालय नपुगेका मुसहर बालबालिका

blog

लहान १ र २ का मुसहर समुदायका बालबालिकाहरू सडकको किनारमा तास खेल्दै । तस्बिर: जीवछ यादव

लहान, मङ्सिर  ७ गते । लहान–१ र २ नम्बर वडामा रहेका मुसहर समुदायको बाक्लो बस्तीमा सडक किनारामा पढ्ने उमेरका बालबालिकाहरू तास खेलिरहेको भेटिन्छ । मुसहर समुदायको बालबालिकाहरूलाई विद्यालयमा नियमित पढ्न पुर्‍याउनुपर्ने शिक्षा र चेतनाको आवश्यकता रहेको आवाज उठ्न थालेको छ । 

नजिकै विद्यालय भए पनि नियमित विद्यालय नजाने बिहान बेलुका तास खेलिरहने बाँकी समय कवाडीको सामानहरू सङ्कलन गरेर नजिकै रहेका कवाडीहरूमा बिक्री गरेर दुई चार समय कमाइ गर्न पल्केका छन् । मुसहर समुदायको बालबालिकाहरूलाई नियमित विद्यालयमा आउनुपर्ने विषयमा विद्यालयले मात्रै प्रयास गरेर नहुने अवस्था रहेको श्री जनता आधारभूत विद्यालयका प्रधानाध्यापक लहान मटियर्वाका प्रधानाध्यापक बद्री नारायण चौधरीले बताउनुभयो । उहाँले भन्नुभयो,‘मुसहर समुदायको बस्तीमा शिक्षाको महत्त्व बुझाउन थप कार्यक्रमको आवश्यकता छ ।’

लहान–१ का –१० र १२ वर्षीय सुभाष र अभाष सदाय सडकको किनारमा तास खेलिरहँदा तिमीहरू किन विद्यालय गई रहका छैनौ ? तास खेल्नु हुँदैन जस्ता प्रश्न सोध्दा जवाफमा  उनीहरू भन्छन्,‘कहिलेकहीँ विद्यालय जान्छौँ । बिहान बेलुका तास खेल्ने बानी भैसकेको छ । १० बजेपछि कवाडीको सामानहरू टिपेर कवाडीमा गएर बेच्दा दुई सयसम्म कमाइ भइहाल्छ ।’

मुसहर समुदायका बालबालिकालाई शिक्षाप्रति आकर्षण गराउन पालिकाहरूले विशेष कार्यक्रम ल्याउन आवश्यक 

सामुदायिक विद्यालयहरूमा भर्ना भएका विपन्न र दलितका बालबालिकाहरू नै रहेको स्थानीय समाजसेवी जयनारायण यादवले भन्दै मुसहर समुदायको बालबालिकाहरू यस्तो विकृतिको लतमा सानै उमेरदेखि फस्दै गए पनि सरोकारवालाहरूको ध्यान कहिले जाने बताउनुभयो । लहान–१ र २ नम्बर वडा सहरी क्षेत्रसँग जोडिएको सबैभन्दा नजिकको वडा र यही दुई वडाको बिचमा रहेको जनता आधारभूत विद्यालय लहान मटियर्वा रहेको उहाँले भन्दै मुसहर समुदायको बालबालिकाहरू कक्षा १० सम्म उत्तीर्ण गरेको यत्रो ठुलो बस्तीमा दस जना नरहेको उहाँले बताउनुभयो । 

बस्तीको सडकको किनारमा आँपको बगैँचाहरूमा तास खेलिरहेको पान पराग गुटकालगायत विकृतिको दलदलमा लागेको अवस्थाबाट मुक्त गराउन वडा नम्बर –१ र २ का वडा कार्यालयले संयुक्त रूपमा जन चेतना जगाउने अभियान थाल्नुपर्नेमा त्यस्तो कार्यक्रम अहिलेसम्म नगरेको अर्का समाजसेवी दुर्गानन्द महतोको बुझाइ छ । उहाँ भन्नुहुन्छ,‘लहान–१ र २ का मुसहर समुदायको अवस्था दिनप्रतिदिन चेतना र शिक्षाको अभावमा दयनीय भइरहेको छ । मदिरा सेवन र तासको झुण्डमा रहने बुबा दाजु काका पर्नेहरूको नक्कल गर्दै  बालबालिकाहरू विकृतिमा लागिरहेका छन । यसका लागि स्थानीय सरकारले पहल थाल्नुपर्ने आवश्यक छ ।’

लहानको भीड हुने होटेल चिया पसल निजी घर र सडकमा विद्यालयमा पढ्ने उमेरका बालबालिकाहरू अहिले पनि बालश्रम गरिरहेको अवस्था रहेको मानव अधिकारवादी नेता राजकुमार राउतले बताउनुभयो । उहाँको अनुसार बालश्रममुक्त समाज निर्माणका लागि सरोकारवाला निकायहरूले ध्यान दिन आवश्यक छ । मानवअधिकारवादी र बाल अधिकारको क्षेत्रमा क्रियाशील सङ्घ संस्थाहरूले समेत आवाज उठाउन जरुरी छ । 

मदिरा सेवन र तासको झुण्डमा रहने अभिभावकको नक्कल गर्दै  बालबालिकाहरू विकृतिमा लागिरहेका छन् ।

दलित समुदायहरूमा चमार(राम) दुसाध (पासवान) खत्वे (मण्डल) तत्मा (दास) लगायतका समुदायहरूमा चेतना र शिक्षाको असर परेर निकै अघि बढिसकेको नागरिक अगुवा रामविहारी साहले बताउनुभयो । उहाँले भन्नुभयो,‘मुसहर समुदायका बालबालिकालाई शिक्षाप्रति आकर्षण गराउन पालिकाहरूले विशेष कार्यक्रम ल्याउन आवश्यक छ । ’

मुसहर समुदायको बालबालिकाहरूलाई शिक्षाप्रति आकर्षण गराउन मुसहर समुदायका बालबालिकालाई आवासीय शिक्षाका लागि मधेस प्रदेश सरकार र स्थानीय सरकारको साझेदारीमा कार्यक्रम आउनुपर्ने विषय कैयौँ पटक प्रदेशसभामा राखे पनि यसबारे कुनै कार्यक्रम आउन नसकेको प्रदेशसभा सदस्य राजेन्द्रप्रसाद चौधरीले बताउनुभयो । 

Author

जीवछ यादव