• ९ वैशाख २०८२, मङ्गलबार

गुमनाम बन्दै हुलाक

blog

उर्लाबारीस्थित हुलाक कार्यालय ।

हरिप्रसाद कोइराला 

उर्लाबारी, मङ्सिर ६ गते । कुनै समय सञ्चार र खबर आदानप्रदानको सबैभन्दा छिटो र भरपर्दो माध्यम हुलाक गुमनाम हुँदै गएको छ । देशैभर सूचना र सञ्चारको पहुँच विस्तार भएपछि हुलाक कार्यालय गुमनाम बन्दै गएको हो । 

तर सरकारले एक पालिका एक हुलाक कार्यालयको व्यवस्था गरेपछि सेवाग्राहीले हुलाक टिकट तोकिएको मूल्यमा पाउन छोडेका छन् । हुलाक कार्यालय उर्लाबारीका प्रमुख विनोद ढकालले भन्नुभयो, ‘चिठी आदानप्रदान मात्र कमी भएको हो । हुलाक टिकट बिक्री बिगतको तुलनामा बढेको छ ।’ ढकालका अनुसार बैंक, प्रहरी र अदालतका पत्रले हुलाकको पुरानो विरासद थानेको छ । ढकालले भन्नुभयो, "कुनै कुनै महिना सादा चिठी एउटा, दुई वटा मात्र हुन्छन् । बैंक र अदालतले पठाउने दर्तावाल पत्रको सङ्ख्यामा भने खासै कमी आएको छैन ।" 

उर्लाबारी हुलाक कार्यालयको तथ्याङ्क अनुसार गत साउनमा ४८ हजार ४८२ रुपियाँको टिकट बिक्री भयो तर सादा पत्र दुई वटा मात्र पत्र मञ्जुषामा खसे । बाहिरबाट २४ वटा सादा पत्र आए । २४८ वटा पत्र रजिष्र्टड भएर आए भने उर्लाबारीबाट २८४ वटा पत्र रजिष्र्टड भएर गए । रजिष्र्टड पत्र सबै बैंक, अदालत र प्रहरी कार्यालयबाट पठाइएका पत्र थिए । विदेशबाट आउने पार्सलले पनि हुलाक सेवालाई थानेको छ । खासगरी खाडी राष्ट्रबाट आउने सामानहरू पनि पार्सलबाट आउने गरेको कार्यालय प्रमुख ढकाल बताउनुहुन्छ । 

भदौमा ३० हजार ८०९ रुपियाँको हुलाक टिकट बिक्री गरेको उर्लाबारी कार्यालयको पत्र मन्जुषामा तीन वटा पत्र खसे । रजिष्र्टड र पार्सलमा भने प्रसस्त पत्र आए । कार्यालय प्रमुख ढकालले भन्नुभयो, पालिकाको वडा वडामा पनि हुलाक टिकट टासेर सरकारी काम गर्नुपर्छ । जसले गर्दा टिकट बिक्री घटेको छैन । तर पत्र मन्जुषामा खस्ने पत्रको सङ्ख्या भने शून्यमा झरेको छ । 

उहाँले भन्नुभयो, "मालपोत, नापी, इलाका प्रशासन , करदाता सेवा कार्यालय, इलाका प्रहरी, पालिकाहरू ,वडा कार्यालय जस्ता सरकारी कार्यालयमा परामर्स सेवा दिन बसेकाहरूले टिकट किन्ने गर्छन् । असोजमा पत्र मन्जुषामा एउटा पनि पत्र खसेन । जबकी असोजमा २६ हजार ३६ रुपियाँको टिकट बिक्री भयो ।"

 गाउँगाउँमा रहेका अतिरिक्त हुलाक बन्द भएपछि हुलाक टिकट तोकिएको मूल्यमा पाउन छोडेको छ । सेवा परामर्सका नाममा दर्ता भएका कम्पनीहरू दश रुपियाँको टिकट ग्राहकको अनुहार हेरेर पन्ध्र-बिस रुपियाँ सम्ममा बिक्री गर्ने गरेका छन् ।