• १२ पुस २०८१, शुक्रबार

कर्णाली भित्रिने तेस्रो सडक निर्माण सुस्त

blog

कालोपत्रे गर्न लागिएको बाबियाचौर खण्डको सडक ।तस्बिर : नवीन सुवेदी

छिन्चु समाचारदाता

सुर्खेत, मङ्सिर ६ गते । सुदूरपश्चिमबाट कर्णाली र कर्णालीबाट सुदूरपश्चिम जाने छोटो मार्गका रूपमा निर्माण प्रारम्भ भएको बड्डीचौर–बाबियाचौर–कुइने–चिसापानी सडकको निर्माण कार्य सुस्त भएको छ । सुदूरपश्चिमकै अछाम, बाजुराबाट तराई पुग्न होस् वा पहाड उक्लिने छोटो मार्ग पनि यही भएकाले छिटो बने सुविधा हुने थियो भन्दै स्थानीयले चासो देखाएका छन् । 

चिसापानीबाट कैलालीकै कुइनेसम्म १२ किलोमिटर र चिसापानीबाट सुर्खेतको बड्डीचौरसम्मको दुरी ४८ किलोमिटर छ । चिसापानी क्षेत्रको दुई किलोमिटर सडक कालोपत्रे छ । बाँकी पाँच किलोमिटर सडक कालोपत्रेका लागि सडक डिभिजन कञ्चनपुरले ठेक्का लगाइसकेको छ तर सडक किनारामा रुख परेकाले निर्माणको काम अपेक्षाकृत गर्न नसकेको सडक डिभिजन कञ्चनपुरका प्रमुख सिनियर डिभिजनल इन्जिनियर राजेशकुमार यादवले बताउनुभयो । उहाँका अनुसार कालोपत्रेका लागि झन्डै १२ करोड रुपियाँमा ठेक्का लागेको हो । 

रुख कटानका लागि गर्नुपर्ने प्रक्रिया पूरा गरेर क्षतिपूर्तिबापतको रकम अर्थ मन्त्रालयले निकासा नगरेपछि निर्माणमा ढिलाइ भइरहेको उहाँले बताउनुभयो । सङ्घ, प्रदेश र स्थानीय सरकारले चिसापानी–बाबियाचौर, जङ्गलाघाट–बडीमालिका जोड्ने छोटो मार्ग निर्माणमा विलम्ब गर्दा स्थानीयले बेला बेला सडक मर्मतजस्ता अभियान चलाएर दबाब दिने गरेका छन् । 

आगामी चैतसम्म ठेक्का अवधि रहेकाले पुस महिनामा रुख काटेबापतको क्षतिपूर्ति रकम अर्थले निकासा गरिदिएको खण्डमा सो रकम वन मन्त्रालयलाई बुझाएर निर्माणलाई गति दिने गरी पहल भइरहेको डिभिजन प्रमुख यादवले जानकारी दिनुभयो । सुदूरपश्चिम प्रदेशबाट कर्णाली भित्रिने र बाहिरिने सबैभन्दा छोटो सडक हो चिसापानी–बाबियाचौर सडक । कुइनेस्थित कर्णाली नदी र जामुमा रहेको भेरी नदीमा पक्की पुल सञ्चालनमा आएपछि दुई छिमेकी मुलुकलाई समेत जोड्ने सडक छिटो निर्माण गर्न सरकारलाई दबाब बढेको हो ।

यही सडक भएर कर्णालीका सुर्खेतसहित दैलेख, कालीकोट, जुम्ला, हुम्लाका नागरिकलाई सुदूरपश्चिमको कैलाली र कञ्चनपुर जान र फर्किन छोटो हुन्छ । कर्णाली राजमार्गको जमुनाह–हिल्सा त्रिदेशीय सडक जोडिएसँगै बड्डीचौर–खम्बगाडे–बाबियाचौर सडक निर्माणाधीन अवस्थामा छ ।

हिउँदको समयमा कैलालीबाट अछाम जाने सवारी चिसापानीबाट सुर्खेत–दैलेख भएर अछामको कमलबजार र मङ्गलसेन पुग्ने गरेका छन् । अन्य समयमा चिसापानी–कोहलपुर–सुर्खेत भएर बाहिरिने गर्छन् । बर्सातमा निकै सास्ती दिने चिसापानी–बाबियाचौर सडक बाह्रैमास सञ्चालनका लागि चुनौती छ । अहिले कैलालीबाट दैलेख, कालीकोट, जुम्ला, बाजुरा, हुम्ला, मुगुलगायतका जिल्ला पुग्न झन्डै दुई सय किलोमिटर दुरी तय गर्नुपर्ने बाध्यता छ । हाल कैलालीको चिसापानीबाट कोहलपुर–सुर्खेत हुँदै यात्रा गर्नु परिरहेको छ । कैलालीबाट अछाम पुग्न मात्रै ३२६ किलोमिटर दुरी तय गर्नुपर्ने अवस्था छ । 

अछाम खण्डमा काम हुँदै 

सुदूरपश्चिम सरकारले अछाम खण्डको ५० किलोमिटर सडकलाई प्रदेश गौरवको आयोजनामा समावेश गरेको छ । अछामको गैरीटार–कमलजबार, तुर्माखाँद–जङ्गलाघाट सडक निर्माण तीव्र गतिमा भइरहेको छ । गैरीटारदेखि कमलबजार नगरपालिका र तुर्माखाँद गाउँपालिकाको सिमाना बाँसकाँडासम्म सडक कालोपत्रे गर्न आर्थिक वर्ष २०७९/८० मै ठेक्का लगाएर काम जारी रहेको पूर्वाधार विकास कार्यालय अछामका प्रमुख रुद्रबहादुर बोगटीले जानकारी दिनुभयो । गैरीटार–बाँसकाँडासम्मको २३ किलोमिटर सडक ग्राभेल अन्तिम चरणमा रहेकाले फागुनबाट कालोपत्रे गरिसक्ने लक्ष्य रहेको प्रमुख बोगटीले बताउनुभयो । 

सुर्खेत खण्डमा काम सुस्त

यता पूर्वाधार विकास निर्देशनालय सुर्खेतले बाबियाचौरदेखि कुइनेसम्म झन्डै १८ किलोमिटर सडक कालोपत्रेका लागि २०७८ मै अनक जयदेवी सनलाइट जेभी र बाँकी जलजला जेभीसँग निर्माण सम्झौता गरेको हो । झन्डै २५ करोड लागतमा निर्माण भइरहेको सडकको ठेकेदारले सन्तोषजनक काम नगरेको निर्देशनालयले जनाएको छ । 

बाबियाचौर–भक्तडी–जङ्गलाघाट सडकको बर्सौं पहिले ट्र्याक खोलिएको हो । पञ्चपुरी नगरपालिकाले छाप्रेका नागरिकलाई सहज आवागमनका लागि सडक अवरुद्ध भएका बेला खुलाएर सञ्चालनमा ल्याउने गरेको छ । यो सडक निर्माणमा प्रदेश र सङ्घ सरकारले चासो नदिएको स्थानीयको गुनासो छ । यो सडक निर्माण भएमा कैलालीको अत्तरियाबाट डडेलधुरा–डोटी–साफेबगर–मङ्गलसेन र अत्तरिया–कोहलपुर, सुर्खेत–दैलेख–मङ्गलसेन पुग्न झन्डै तीन सय किलोमिटर दुरी छोटिन्छ ।

सुर्खेत र अछामलाई जोड्न जङ्गलाघाटमा पक्की पुल निर्माण गर्न लागिएको छ । पञ्चपुरी नगरपालिका सुर्खेत र तुर्माखाँद गाउँपालिकाको सिमानामा पर्ने जङ्गलाघाटको कर्णाली नदीमा पक्की पुल निर्माण गर्न पुलको डिजाइन र निर्माण दुवै कार्य निर्माण व्यवसायीले गर्ने गरी सम्झौता भएकाले निर्माण थालनीमा विलम्ब भएको पुल सेक्टर कार्यालय सुर्खेतका इन्जिनियर देवेन्द्र भट्टराईले जानकारी दिनुभयो ।