यदुप्रसाद भट्ट
मनाङ, मङ्सिर ४ गते । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका संरक्षण कार्यालय (एक्याप) ले दानाक्यु र तिमाङबिचमा पर्ने उकालोमा सय मिटर पक्की रेलिङ निर्माण गरेको छ । आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत सो कार्य गरिएको एक्यापले जनाएको छ ।
मनाङबाट सुरक्षित पदमार्ग अवधारणा अनुरूप मनाङको नासों गाउँपालिका वडा नं ९ को उकालोमा एक्याप मनाङबाट सय मिटर पक्की रेलिङ निर्माण गर्ने कार्य सम्पन्न भएको एक्यापले जनाएको छ । मनाङका धेरैजसो भूभाग संरक्षित क्षेत्रमा नै पर्ने भएकाले पर्यटकको सहजतालाई ध्यानमा राखिएको हो ।
पदयात्री तथा पर्यटकलाई अप्ठ्यारो बाटोमा सहज तथा सुरक्षित होस् भनी सो पक्की रेलिङ निर्माण सम्पन्न गरेको हो । असोजदेखि मङ्सिरसम्म मनाङमा पर्यटकको चाप बढ्ने तथा पदयात्रीलाई भीरमा लडिने भय पनि भएकाले रेलिङ लगाउने कार्य गरेको एक्याप मनाङले जनाएको छ ।
त्यसैगरी एक्यापले नासोँ–४ ओडार गाउँ र ८ ताचै गाउँमा दुईदिने सचेतना गोष्ठी सम्पन्न गरेको छ । हिमाली जिल्लाका महिलाहरुलाई महिनावारी स्वास्थ्य, पाठेघरको क्यान्सर, स्तन क्यान्सर तथा प्रजनन स्वास्थ्यसम्बन्धी सचेतना गोष्ठी सम्पन्न गरेको छ । सो गोष्ठीबाट ५० जना महिला लाभान्वित भएका थिए । ओडार र ताचैको आमा समूहको पनि पुनर्गठन गरिएको एक्यापले जनाएको छ ।