शेरबहादुर सार्की
बाजुरा, मङ्सिर गते । जिल्लाको पूर्वीउत्तर क्षेत्रमा रहेको बुढीनन्दा नगरपालिकाको दानसाँघुमा बेलिब्रिज पुल निर्माणका लागि सर्भे गरिएको छ ।
मार्तडीदेखि कोल्टी सडक सूचारु भएको झण्डै दश वर्ष भए पनि दानसाँघु खोलामा पक्की पुल निर्माण नहुँदा यहाँ चल्ले सवारी साधानलाई हिउँद बर्खा त्यो खोला वारपार गर्न निकै सास्ती खेप्दै आउनुपरेको छ ।
सडक डिभिजन कार्यालय अछामले यी बेला बडिमालिका नगरपालिकाको जडाङ्गामा रहेको बेलिब्रिज पुललाई त्यहाँ राख्ने गरी दानसाँघु खोलामा बेलिब्रिज पुलको सर्भे गरिएको हो ।
हिउँदको महिनामा चिसोले खोला तर्न नसकिने र बर्खाको समय पानीको बहाव बढ्दै जाने गरेकाले यहाँ सवारी साधानलाई खोला वारपार गर्न निकै समस्या हुने गरेको जिप चालक पदम बडुवालले बताउनुभयो ।
उहाँले भन्नुभयो, “हिउँदमा मार्तडीदेखि कोल्टीसम्मको बाटो नबिग्रिने भएकाले गाडी चलिरहन्छन् । तर दानसाँघु खोलामा भने पक्की पुुल नभएका कारण यहाँ हिउँद र बर्खामा खोला तर्न निकै समस्या हुने गर्छ ।”
अहिले खोलामा बेलिब्रिज पुल निर्माण गर्ने गरी पुलको सर्भे भएपछि बुढीनन्दा नगरपालिकाको कोल्टी, हिमाली, जगनाथ र स्वामिकार्तिकका खापर गाउँपालिकाका व्यापारीहरुलाई सामान ढुवानी गर्न निकै सहज हुने बडुवालले बताउनुभयो ।
२०७२ सालदेखि हिउँदको महिना यो सडकमा गाडी चल्न थालेपछि जिल्लाको पूर्वी उत्तर क्षेत्रका स्थानीयलाई दैनिक उपभोगयका सामग्री ढुवानीमा निकै सहज भएको थियोे ।
अछामको साँफेबगर तथा मार्तडीबाट भेडा र खच्चरको भरमा खाद्यान ढुवानी गर्दै आएका यहाँका स्थानीयलाई मार्तडी कोल्टी कच्ची सडकले निकै सहज गरेको भए पनि दानसाँघु खोलामा पक्की पुल नहुँदा बर्खाको समय समस्या हुने गरेको छ ।
हिउँदको समय बस, ट्रक, जिप र ट्क्याटर मार्तडीदेखि कोल्टी सुचारु हुँदै आए पनि बर्खामा भने ती सबै सवारी साधान दानसाँघु खोला वारी नै रोकिने गरेपछि यहाँका स्थानीयलाई बर्खाको समय दैनिक उपभोग्य सामग्री ढुवानी गर्न निकै समस्या हुने हो ।
वर्खाको समय यहाँका व्यापारीले भरियाद्वारा सामान ढुवानी गराउने हुँदा स्थानीयलाई चर्को मूल्यमा सामान खरिद गर्नुपर्ने बाध्यता हुन्छ ।
नौ वटै स्थानीय तह तथा विभिन्न सरोकारवाला निकायहरुलाई जडाङ्गामा रहेको बेलिब्रिजलाई दानसाँघुमा लिने सहमति भएपछि अहिले खोलामा पुल निर्माणका लागि सर्भे भएको बुढीनन्दा नगरपालिकाका नगरप्रमुख जनक बोहराले बताउनुभुयो ।
मार्तडी कोल्टी सडकअन्तर्गत पर्ने दानसाँघु खोलामा बेलिब्रिज पुल निर्माणका लागि सर्भे भएको सडक डिभिजन कार्यालय अछामका प्रमुख नेत्र देवकोटाले बताउनुभयो ।
उहाँले भन्नुभयो, “यता बडिमालिका नगरपालिकाको जडाङ्गा खोलामा स्टक रहेको बेलीब्रिजलाई दानसाँघुमा खोलामा राख्ने गरी गत सोमबार त्यहाँ सर्भे गरेको छ ।”
जडाङ्गा खोलादेखि दानसाँघु लिएर तयार गर्नका लागि झण्डै दुइ करोड रुपियाँ लाग्ने भएकाले स्टिमेट तयार गरी सङ्घीय सरकारलाई पठाउने र उताबाट रकम आएपछि यो आर्थिक वर्षभित्रमा नै दानसाँघु खोलामा बेलिब्रिज पुल निर्माणको कार्य सम्पन्न गर्ने देवकोटाले बताउभुयो ।