काठमाडौँ उपत्यकाका प्राचीन तीन शहर कान्तिपुर, पाटन र भक्तपुरमध्ये कान्तिपुर अर्थात् काष्ठमण्डपका मानव बस्तीको बनावट निकै रोचक र चाख लाग्दो छ । यस शहरको नाम काष्ठमण्डप, कान्तिपुर हुँदै काठमाडौँ रहन गएको इतिहास छ । बाहिर बस्नेहरू काठमाडौँलाई नेपाल पनि भन्ने गर्थे । ऐतिहासिक तथा पुरातात्त्विक दृष्टिकोणले महत्वपूर्ण कान्तिपुर शहरभित्रको बस्ती ३२ वटा टोलमा बाँडिएको थियो ।
प्राकृतिक तथा कृत्रिम विपत्का घटना र सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर कान्तिपुर शहर बनाएको इतिहासका पानामा पढ्न सकिन्छ । त्यति बेला शहर बन्नका लागि चाहिने न्यूनतम पूर्वाधार भनेकै ‘ननीचोक, बाबै, नाशःद्य र गली’ अनिवार्य थियो । यस्ता सुविधा टोल तथा बस्ती निर्माणका मुख्य आधार थिए ।
मठमन्दिर रहेको फराकिलो स्थललाई ननी भनिन्थ्यो । चोक भनेको घरैघरको बीचमा रहेको खुला ठाउँ, बाः भनेको बहा (महाविहार), बैः भनेको बही (बिहार) र गली भनेको गल्ली भन्ने बुझिन्छ ।
ननीमा गणेश भगवान्को मन्दिर हुन्छ । मन्दिरको स्थापनाले प्रत्येक दिन पूजा आराधना र नित्यकर्मको अनिवार्यतालाई जनाउँछ । चोकहरू खुला र फराकिलो हुने भएकाले ती प्रायः बच्चादेखि बुढापाका जमघट हुने ठाउँ थिए । बाः र बैः क्रमशः वज्राचार्यहरू र शाक्यहरूले बौद्ध शिक्षा दिने शिक्षालय थिए ।
अचेल पनि विभिन्न टोलको चार/पाँच घरका बीचमा चोक रहेको देख्न सकिन्छ । नेपाल भाषामा चोकलाई चुक वा चोक पनि भन्ने गरिन्छ । बस्तीको बीचमा चोक जस्तै ननी रहेका छन् ।
चोकैचोकबाट बनेको ठूलो बस्तीको बीचमा ननी रहेको हुन्छ । ननी वरपर २५–३० वटा घर रहेका हुन्छन् । ननीचोकको भुइँ चारपाटे इँटाले छापिएको हुन्छ । त्योबेला बस्तीको बीच ननीचोक अनिवार्य थियो ।
विगतमा ननीहरू धार्मिक कार्य, नित्य तथा पूजा आराधनाका लागि मात्र नभई भूकम्प जाँदा तथा आगलागी हुँदा खुला स्थानमा ओत लाग्न, बच्चा र बुढापाकालाई घाम ताप्न, खेल खेल्न प्रयोग हुन्थे ।
यता चोकहरू पनि चिसो मौसममा घाम ताप्न, केही इलमका काम गर्न, अन्नपात सुकाउनलगायत बहुपयोगी थिए । यस्ता ननीचोक अतिक्रमणमा परेपछि पुरानो जीवनशैली पनि हराउन थालेको छ ।
२०७२ सालको विनाशकारी भूकम्पका कारण भित्री बस्तीका मानिस अन्यत्रै बसाइँ सरेपछि सयौँ ननीचोक संरक्षणको पर्खाइमा रहेको देखिन्छ । ती क्षेत्र मर्मत सम्भार नगरिँदा चिया–नास्ता व्यापार, लागूऔषध प्रयोगस्थल, किशोरकिशोरीको डेटिङ हब, फोहोर थुपार्ने र सवारी पार्किङ स्थल बन्दै गएका छन् । माटो र इँटा प्रयोग गरी बनाइएका ननीचोक, बाः बैः, नासःद्य र गलीको अवस्थाका बारेमा अध्ययन गरिरहेका संस्कृति अभियन्ता नरेन्द्र महर्जनका अनुसार उहिले ननीचोकमा परेको आकासेपानी जमिनले सोस्थ्यो । अहिले त्यहाँ ढुङ्गा र कङ्व्रिmट प्रयोग हुँदा पानी जम्ने समस्या देखिएको छ ।
बस्तीभित्र व्यापारिक प्रयोजनका लागि अग्ला घर बनेका छन् । साथै ननीचोकसम्म पुग्ने गल्लीसमेत हराएका देखिन्छन् । बस्तीसम्म पुग्न बनाइएका यस्ता साँघुरा गल्लीलाई बङ्करसँग तुलना गर्छन् अभियन्ता महर्जन । उनको भनाइमा टोलवासीको सुरक्षाका लागि घुमाउरो र साँघुरा गल्ली बनाइएका हुन्थे ।
त्यतिबेला बाह्य आक्रमण रोक्न तथा शत्रुले बाटो पत्ता लगाउन नसकोस् भनेर साँघुरा तथा घुमाउरा गल्ली र ढोका राखिन्थ्यो । चोरी डकैती, लुटपाटबाट जोगिन ३२ वटै टोलका हरेक बस्तीमा यस्तै गल्ली, ढोका, ननी र चोक थिए ।
कान्तिपुर शहरको स्वरूप अनुरूप वसन्तपुर (हनुमानढोका) दरबारभित्र पनि मोहनी चोक, सुन्दरी चोक, नासल चोक, मूल चोक, दशैँ चोक, वायु चोकलगायत ११ वटा चोक निर्माण गरिएको इतिहासमा उल्लेख छ ।
–देवबहादुर कुँवर