• २ माघ २०८१, बुधबार

भाइरल ज्वरोको प्रकोप

blog

नवलपुरस्थित एक क्लिनिकमा देखिएको भिडभाड । तस्बिर : जनार्जन खत्री

सर्लाही समाचारदाता

सर्लाही, मङ्सिर ४ गते । सर्लाहीमा केही सातादेखि भाइरल ज्वरो र रुघाखोकीबाट प्रभावित हुनेको सङ्ख्या बढ्न थालेको छ । प्रत्येक जसो स्वास्थ्य संस्थामा भाइरल ज्वरोका बिरामीको चाप बढ्दो छ । हरेक जसो घरमा भाइरल ज्वरोका बिरामी भेटिने गरेका छन् । 

लालबन्दी नगरपालिका–५, मेजरगन्जका चन्द्रमणि घिमिरेले गाउँका अधिकांशमा भाइरल ज्वरोको प्रकोप देखिएको बताउनुभयो । उहाँले भन्नुभयो, “तिहार र छठपछि प्रत्येक घरमा ज्वरोका बिरामी छन् र एकपछि अर्कोलाई ज्वरो सरिरहेको छ ।” भाइरल ज्वरोमा शरीर कटकट दुख्ने, असाध्यै कमजोर महसुस हुने र खाना नरुच्ने जस्ता समस्या देखिने घिमिरेले बताउनुभयो । 

कुनै कुनै परिवारमा सबै सदस्य बिरामी परेका छन् । घरमा एक सदस्य बिरामी भएपछि अर्कोमा पनि ज्वरो सरिहाल्ने गरेको नवलपुरस्थित एक क्लिनिकमा भेटिनुभएकी हरिपुर नगरपालिका–१, हजार बिघाकी गृहिणी अम्बिका रुम्बाले बताउनुभयो । यहाँका निजी स्वास्थ्य संस्थामा बिहान र बेलुकाको समयमा ज्वरोको उपचार गर्ने तथा सलाइन पानी चढाउनेको भिड देखिन्छ । कार्यालय समयभित्र खुल्ने सरकारी स्वास्थ्य चौकीमा पनि ज्वरोका बिरामीको चाप बढिरहेकै छ । गर्मी कम भई चिसो बढ्दै जाँदा भाइरल ज्वरो र मौसम परिवर्तनजन्य रोगका बिरामी बढेको सदरमुकाम मलङ्गवा निवासी डाक्टर गुनेश्वर झाले बताउनुभयो । 

उहाँले भन्नुभयो, “यो समयमा बर्सेनि भाइरल ज्वरोको प्रकोप देखा पर्छ ।” डाक्टर झाले चिकित्सकको सल्लाहबमोजिम केही दिन औषधी सेवन गरेपछि यो आफैँ ठिक हुन्छ, आत्तिनु नपर्ने  पनि बताउनुभयो । उहाँ भाइरल ज्वरोले बिरामीलाई कमजोर पार्ने भएकाले झोलिलो र शरीरलाई शक्ति प्रदान गर्ने खानेकुरा बढी खान सुझाउनुहुन्छ । भाइरल ज्वरो सरुवा हुने भएकाले बिरामीसँग सुरक्षित भएर बस्न उहाँको आग्रह छ ।