• १२ पुस २०८१, शुक्रबार

तरकारीमा उत्पादन घटेपछि परनिर्भर बन्दै लहान

blog

भारतीय बजारबाट तरकारी बोकेर आएको मिनि ट्रक । तस्बिरः जीवछ यादव

जीवछ यादव

लहान, मङ्सिर ३ गते । केही वर्ष पहिले तरकारी उत्पादनमा आत्मनिर्भर रहेको लहान यतिबेला परनिर्भर हुन थालेको छ । लहानको मुख्य चोकमा रहेको तरकारी बजारमा साँझ बिहान तरकारी खरिद गर्नेहरूको भिड लागेको हुन्छ । तरकारी खरिद गर्न आउने उपभोक्तालाई यतिबेला भारतीय बजारबाट आएको तरकारी महँगोमा खरिद गर्नुपर्ने बाध्यता रहेको स्थानीयको भनाइ छ । 

भारतीय बजारबाट बिनाजाँच आएको तरकारी स्वास्थ्यका लागि अहितकर रहेको  उपभोक्ताको बुझाइ रहे पनि प्रशासनले चासो नदिएको गुनासो छ । लहान वडा –७ का पूर्व वडाध्यक्ष राकेश रोशन गुप्ताले भन्नुभयो, “उमेर ५० वर्षभन्दा बढी हुन लाग्यो यत्रो महँगो तरकारी कहिले पनि खरिद गर्नुपरेको थिएन । स्थानीय किसानहरूले पहिले बजारमा पुग्ने तरकारीको आपूर्ति गर्दा मूल्य पनि कम हुन्थ्यो ।”

महँगो मूल्यमा खरिद गर्नुपरेको तरकारी भारतीय बजारबाट आइरहेकाले कति विषादी हुन्छ, यसको कुनै जाँच नभएको उपभोक्ताले बताएका छन् । लहान नगरपालिका कृषि शाखा प्रमुख प्रकाश साह हलुवाई लहानमा भइरहेको पाँचसय हेक्टर खेतीमा हुने तरकारी खेती घटेको बताउनुभयो । 

तरकारी पकेट क्षेत्र रहेको वडाहरूमा उत्पादन घटेपछि भारतीय तरकारीमा परनिर्भर हुनु परेको कतिपयको भनाइ छ । तरकारी उत्पादन घट्नुको प्रमुख कारण युवाहरू तरकारी खेतीभन्दा वैदेशिक रोजगारीमा जान थालेपछि घरमा रहेका महिला र वृद्धवृद्धाले तरकारी खेती गर्न नसकेको अवस्था छ । 

लहान नगरपालिकाको तरकारी खेतीप्रति युवाहरूमा आकर्षण ल्याउन कृषि शाखा प्राविधिकको सङ्ख्या बढाउनुपर्ने माग छ । तरकारी खेती आकर्षण प्याकेट ल्याउन पहल थाल्नुपर्ने विषयमा गम्भीर हुन आवश्यक रहेको लहान –२३ का वडाध्यक्ष बद्रीनारायण यादवले बताउनुभयो । 

उहाँका अनुसार भारतीय बजारबाट बिहानै दुई मिनीट्रक तरकारी आउँदा त्यसको कुनै जाँच भारतीय सीमामा भइरहेको छैन । प्रहरी र भन्सारको मिलेमतोमा आइरहेको तरकारी स्वास्थ्यका हिसाबले कमजोर रहेको छ ।  

लहान–१३ का तरकारी खेतीतर्फ लाग्नु भएको कृषक सत्यनारायण यादव भन्नुहुन्छ, ‘यस भन्दाअघि वडा सदस्यमा समेत निर्वाचित हुँदा पनि आफू एक बिघा तरकारी खेती गरेर वर्षको पाँच लाखभन्दा बढी आम्दानी गर्नुहुन्थ्यो । नगरपालिका कृषि शाखाले जुन किसिमको तरकारी खेतीको लागि रणनीति बनाउनुपर्ने हो, त्यस किसिमको रणनीति बन्न नसक्नु वैदेशिक रोजगारमा जाने युवालाई तरकारी खेतीतर्फ आकर्षण गराउन बजार र पुँजीको व्यवस्था गर्नुपर्ने कतिपयको सुझाव छ ।

लहान, धनगढीमाई, गोलबजार, मिर्चैयार र कर्जन्हा नगरपालिकाको उत्तरी भेग, सुखीपुर नगरपालिका, नरहा, विष्णुपुर र अर्नमा गाउँपालिका गरी हजारौँ हेक्टरमा तरकारी उत्पादन गरेर भारतीय बजारमा निर्यात गर्नुपर्ने तरकारी भारतीय बजारबाट ल्याउनु परिरहेको वातावरणविद् दिनेश यादवले बताउनुभयो ।