• ४ पुस २०८१, बिहिबार

जानकी मन्दिरबाट टोली अयोध्याका लागि प्रस्थान

blog

अयोध्या हिडेका टोलीलाई विदाइ गर्दै मुख्यमन्त्री सतिशकुमार सिंह । तस्विरः धर्बेन्द्र झा

धर्बेन्द्र झा

जनकपुरधाम, मङ्सिर १ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाममा प्रत्येक वर्ष मनाइने रामजानकी सप्ताहव्यापी विवाहपञ्चमी महोत्सवामा भारतको अयोध्याबाट जन्तीको रुपमा सहभागीहुने साधुसन्तको टोली भगवान रामको तिल्कोत्सव गर्नका लागि कोसेली लिएर शनिबार अयोध्या प्रस्थान गरेको छ ।

विश्व हिन्दु परिषद धनुषाका अध्यक्ष सन्तोषकुमार साह नेतृत्वको टोलीलाई मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह, जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख मनोज साह र जानकी मन्दिरका महन्त रामतपेश्वर दासले एक कार्यक्रमविच आमन्त्रणपत्र र कोसेली हस्तान्तरण गरी विदाइ गर्नुभयो । 

विभिन्न प्रकारका मिठाइ, फलफूलसहितका सामग्री कोसेलीको रुपमा लिएर आज निस्केको उक्त टोली महोत्तरी, सर्लाही, रौतहट, वारा जिल्ला हुँदै पर्साको विरगञ्जमा राति विश्राम गर्ने बताइएको छ । 

आइतबार मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह, गृह तथा सञ्चार तथा कानून मन्त्री राजकुमार लेखीसहितका मन्त्रीहरु टोलीमा सहभागी भएपश्चात मुख्यमन्त्री सिंहको नेतृत्वमा उक्त टोली आइतबार अयोध्याका लागि प्रस्थान गर्ने कार्यक्रम रहेको  छ । 

जानकी मन्दिरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले मिथिला र अवधविचको सम्बन्ध त्रेताकालदेखि प्रगढ रहेको चर्चा गर्दै अयोध्यामा भगवान रामको मन्दिर निमार्णपछि यस वर्षदेखि जनकपुरधामबाट अयोध्या गएर भगवान रामको तिलक गर्ने कार्यक्रमको सुरुवात हुनु सकारात्मक रहेको बताउनुभयो । 

उहाँले विवाहपञ्चमी महोत्सवलाई अझ व्यवस्थित गर्न प्रदेश सरकारबाट हुन सक्ने सहयोगका लागि मधेश प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो । प्रत्येक पाँच वर्षमा अयोध्याबाट विवाहपञ्चमी महोत्सवको अवसरमा जनकपुरधाममा हुने रामसिताको वैवाहिक कार्यक्रममा जयन्ती आउने गरेको छ । 

त्रेता कालमा राजा दशरथका पुत्र मर्यादा पुरुषोतम भगवान राम र राजा जनकको पुत्री जगतजनन्ी जानकीको विचमा मंसिर शुक्लपञ्चमीे तीथिमा भएको विवाहको सम्झनामा प्रत्येक वर्ष जनकपुरधाममा रामसिताको वैवाहिक कार्यक्रमको आयोजना हुने गरेको छ । 

अयोध्याबाट आउने जन्ती विवाहपञ्चमी महोत्सवमा श्रद्धालुको आकर्षणको केन्द्र रहने गरेको जनकपुरधाम उपमहानगरपालिका १ का रामभगत साहको भनाइ रहेको छ । यस वर्ष मंसिर १६ गतेबाट सप्ताहव्यापी विवाहपञ्चमी महोत्सव सुरु हुनेछ भने भगवान रामसिताको वैवाहिक कार्यक्रम मंसिर २१ गते हुने जानकी मन्दिरका महन्थ दासले बताउनुभयो ।