• ११ पुस २०८१, बिहिबार

परागको अनुराग !

blog

तब पो ऋतुकी रानी शरद ऋतु ! दसैँतिहार, छठ जस्ता महापर्वले नयाँ उत्साह, जाँगर र चेतना चम्काएको । दीपावली र आतिसबाजीको उज्यालोले तनमनभित्रका क्लेश, कल्मष र अन्धकार सिनित्त पखालेको । ढलनाली कुनाकाप्चा र गल्ली चौबाटाको धुलोमैलो पखालेधर सफासुग्घर बनाउने यो ऋतु ! साँच्चै ऋतुकी रानी भन्न सुहाउँदो छ । सहर उज्यालो, गाउँ उज्यालो, वनै उज्यालो, मनै उज्यालो । औँसीका रातमा पनि आकाश, पाताल, खोला र तलाउ सबैतिर झलमल्ल उज्यालो । 

‘फूलैफूलबाट मानो बनेकी, सुनैसुनैबाट मानो कुँदेकी ।’ महाकवि देवकोटा ऋषिकन्या शकुन्तलामा देख्छन् शरदको लाली । यसै शरद ऋतुको आह्वानले होला, शाकुन्तल महाकाव्यका यी पङ्क्तिहरू किन किन पछ्याइरहन्छन् हाम्रो चेतनालाई ? महाकवि देवकोटाले के त्यस्तो अनुपम अनुराग पाउनुभो कण्वऋषिको आश्रममा हुर्किंदै बढेकी ऋषिकन्या शकुन्तलाबाट ? ती दुई लवज पढ्दा मात्र पनि लाग्छ बालापनको सँघार टेकेकी शकुन्तलाको रूप लावण्यको वर्णनमा महाकवि कालिदासलाई पछ्याउँदै भावतरङ्गका इन्द्रेणीहरू वरिपरि छरिन्छन् देवकोटाका मनभरी । सिर्जनाको सकसकी र पोखिन हतारिएका आवेगहरू उत्ताउला बनेर छचल्किँदै दौडिन खोज्छन् खुला मैदानमा । स्वतन्त्र र स्वच्छन्द बनेर उफ्रिने, खेल्ने मैमत्त मृगशावक बनेर महाकविको काव्यकला छचल्किँदै पोखिँदै गर्छ क्यानभासमा पनि । वनको ऋषि आश्रममा जन्मेबढेकी कमनीय कन्या शकुन्तलाको भेटले उब्जाएको आवेग र चञ्चल मनोभावलाई उतार्न कताको गाउँठाउँ खोजून् त कविले ? अनि उनका भावतरङ्गहरूले बाँध भत्काउने गरी ठेलमठेल पेल्दा आफू जोगिन कुन छहरा र सरिताको मुहान खोजून् त कविले ? 

कहिल्यै सुगन्ध नभेटिने सुनमा पनि सुगन्ध खोज्ने महाकवि देवकोटा । पहारिलो, बहाडिलो यही शरद ऋतुको पहिलो प्रहरमा जताततै फुल्ने फक्रिने फूलबारी फाँटमा आशा उत्साह जगाउँदै पाक्ने अन्नबाली अनि विविध फलको बहार नै उपहार पाएपछि उनको सुनमाथि सुगन्धको खोजी पनि सार्थक बनेको छ । किन त भन्दा यतिबेर शरद ऋतुको मृदु मुस्कानमय मौसममा रूप लावण्यमा समाहित सौन्दर्य र पराग पोखिँदै फैलिने सुगन्ध पनि सँगै मिलिबसेका देखिन्छन् । बास्ना नभएको फूल छैन । पाकेर लटरम्म नभएको फल छैन । यही त हो शरदको सान !

महाकवि लक्ष्मीप्रसाद देवकोटाले भने झैँ सिकार खेल्न गएका राजा दुष्यन्त र मृगका पाठासँग खेल्दै गरेकी शकुन्तलाको पहिलो भेटघाट पनि यस्तै समयमा परेछ । भेटलाई अनुरागपूर्ण बनाउन होला, यतिबेर मौसम स्वयम् मदालस बनेको छ । बागबगैँचामा फक्रिएका गोदावरी, मखमली, सयपत्री आदि जाहीजुही बेगम्बेलीलगायत असङ्ख्य फूलैफूलको विस्तीर्ण साम्राज्य छ लेकबेँसी, वनजङ्ल जता पनि । घर, गोठ, बारी, बगैँचा एकनासले सिँगार्ने बास्नादार पुष्पपरागले भरिएको छ गाउँसहर । त्यही मादक परागले मदमत्त बनेको छ मनमस्तिष्क अनि वातावरण । दाना, कोसा, नल र परालमा भरिभराउ छ खेतबारीको अन्नभण्डार । थरी थरी वृक्ष, वनस्पति र फलको रङ्गीन सगरमाथा बनेको छ शरद ऋतु । ऋतुराज वसन्तलाई उछिन्दै फूलको पराग र फलमाथिको अनुरागले नै शरदलाई सिँगारेर मायावी बनाएको छ । त्यसैले ऋतुकी रानी भनियो यो ऋतुलाई । सौन्दर्य प्रसाधनका अनेकथरी साधनले नखशिख सिँगारिएका रानी महारानीको सिँगारपटार र लालीफाहाको बास्नादार बहार नै शरदको उपहार बनेर घरदैलोमा आइपुगेको छ । 

दसैँतिहारको बेला राता अक्षता र जमराले सजिएर मान्यजनको आशीर्वाद लिँदै वारि गाउँ, पारि सहर जताततै बेफुर्सदी जीवन चलायमान भइरहने अवसर । जुवातासले मन बहलाउने अनि दिमाग हल्लाउन र घरबास उडाउन पनि बेर नलगाउने रमिताको बेला पनि । अघिपछि सधैँ बेफुर्सदीको जीवन भोग्नेहरू पनि यतिबेर हुन्छन् चौतारी, क्लब, होटेल र रेस्टुराँमा भेला । आआफैँ हानाहान गर्छन् अनि कौडा, तास, लँुडो, घप्पु र पासाका खेलभित्र झेलका छेला । अनि गर्छन् जुवाडे महाशय नै तानातान हानाहानको रँगेला र पर्छन् पुलिस दाइको फेला । बाजी हार्दै गएको झोकमा कतिले कौडा तासमाथि लामो हात गर्दा झगडा परेर चुक्ली लगाउँदा आआफैँ पर्छन् कानुनको फेला । घरमा सेल, पुरी, अनरसा सेलाउने उता निहुँ खोज्ने जतिलाई खोरमा हुलेर पुलिस दाइले गोरु चुटान बिर्साउने गरी तर्साउने तालले डन्डा चलाउने । चाडबाडको निहुँ पारेर आफैँ धतुरेपानीले रँगिएका सुरक्षाका दाइहरू पनि कम देखिन्नन् यो बेला । कुनै दाइ त अघिपछि कडाइसाथ डन्डा चलाउन र दन्डसजाय गर्न उद्दण्ड खप्पिस भए पनि यतिबेर भने जितौरीको बेजोमाथि ‘जो हात सो साथ’ को समयानुकूल नीति अख्तियार गरेर कतिपयलाई त छोडिदिन्छन् र भन्छन्, यो त हो खेलबाडकै चाडबाड र मेलाको बेला तर जुवा हारेर खल्ती खलाँस परेका बुटिट्वाँट भाइजति पुलिस दाइको थुनुवा कोठाका महामहिम बनेर योगसाधनामा नै बिताइदिन्छन् मोरो हरुवा तिहारलाई ।  गाउँका चउरदेखि सहरका होटेल घर, दरबार जताततै तैपनि मज्जैले पो चल्छ मार्रा मार्राको खेला ।

बर्खा बिदो भएपछि क्षितिजबाट सुन्दर मुस्कान छर्दै सूर्यचन्द्र पालो फेरो उदाउने बेला । पहाड तराई जता जाउ उतै अन्नपूर्णको आशिष फलेको देखिन्छ भरिपूर्ण बनेर । गाउँपिच्छेका बागबगिया कुँडार पाखापखेराहरूमा थामिनसक्नु फल लागेर बोटबिरुवाजति हाँगाबिँगा उत्ताउलिएर लर्किएका । बगैँचा र बारीका बोटभरि जुनार, सुन्तला पाकेर पहेँलै टल्किएका । खोलाकिनारका फाँट पाकेका धानबालीसँगै डमाडम भरिएका । नल, पराल थन्क्याउने मात्र हैन, सखरखण्ड, पिँडालु तरुल जस्ता कन्दमूलका झाङमा अन्नपूर्णा देवीको आशीर्वाद फुल्ने फल्ने ऋतु । थरी थरीका फूल फुलेर पहाड तराई ढकमक्क बने । फुलैपिच्छेका अनेकथरी बास्ना र सुगन्धको रागले उन्माद भरिएको परागको अनुराग लिएर उदाउँछ दिन । 

शरद ऋतुको चञ्चल जूनले म्वाइँ खाने कञ्चन हिमाल अनि भर्खर सिनित्तै सङलिएर सफा कञ्चन शीतल बनेका छाँगा र नदीनाला । अलि दिनअघि आफैँलाई पुर्ला भनेर डराउनुपर्ने पहिरा भोक्सी भँड्खारा अहिले पैदलै मार्चपास गर्ने साहसिक पदमार्गका गोरेटा बने । अस्ति मात्रै कैयौँ मानिस र पशुचौपायाको चिहान बनेका नदीनाला दुब्लाए । घरबास खँगारेर जनताको उठिबास लगाएका पहिरा भोक्सी थामिए । रस्तीबस्ती नै बगाउला भनेर देख्तै सातो जाने र सधैँ डराउनुपर्ने खहरे खोला आजै सङ्लिएर निला भए । आज त आफू पनि तिनै खोलासँगै गला मिलाएर सलसली बगौँ जस्तो लाग्ने भएछ । पाखाटारी गलखेत भन्नु परेन । तराई, पहाड र हिमालमा पनि भिन्नता रहेन । फूलको फलको एकछत्र साम्राज्य फैलिएको छ तलमाथि सबैतिर । खेतका गरा पाकेको धानले पहेँलपुर हराभरा बने । आली, कान्ला र बारीका डिलमा पाकेका मास, मस्याङ र भटमासका कोसा लटरम्म झुले । पाकेका कोसा ‘लौन मलाई उठाऊ, मलाई स्याहारसम्भार गरेर थन्क्याऊ, नत्र म पट पट फुटेर छरिन लागेँ,’ भन्दै गर्दै छन् पुकारको तमासा ।

अस्तिसम्म हिलोमैलो देखिने ऋतुकी रानीको बहिरङ्ग पोसाक लख काट्नै नसकिने गरी कति चाँडै पखालिएछ । भर्खर पलाउँदै गरेको पालुवा जस्तो मुहारमा बैँसको बेमिसाल लाली चडेछ । अनुहारमा धवल कान्तिको ज्वारभाटा उम्लिएछ । कायाको रङ निखारिएछ । जवानीको छाल छचल्किँदै गरेका शरीरका अमुक अवयवको आयतनसँगै पोसाक र पहिरनको ढङ्ग पनि फेरिएछ । धन्न शरद ऋतु । 

दसैँतिहारको बहारलाई उपहारका रूपमा लिएर आउने अनि मानव बस्ती, गाउँ, सहर र खोला बगर सबैतिर नयाँ प्रहर ल्याउने यही ऋतु । यसै ऋतुमा त छठ, तिहारले आफ्नैखाले मौलिक बहार ल्याएका छन् । अन्तरहृदयदेखि उद्बेलित असीम भक्तिभावले प्रेरित दुर्गा, लक्ष्मी र छठीमैयाको भजनकीर्तनले गुञ्जिएको छ आकाश । सूर्यदेवको पूजा र महास्नानको महनीयताले यसै ऋतुलाई अझै महिमामण्डित बनाउँदै धवल प्रकाशले नुहाएको छ । उँधौली पर्व र नेपाल संवत्ले नयाँ काँचुलीमा फेरिने दिन पनि यसैबेलाको उपहार बनेको छ । बस् ।  

Author

नरेन्द्रराज पौडेल