• २८ पुस २०८१, आइतबार

पूरा भयो बस चढ्ने सपना

blog

बाजुरा समाचारदाता

बाजुरा, मङ्सिर १ गते ।  बाजुराको पूर्वोउत्तर क्षेत्रमा पर्ने हिमाली, स्वामिकार्तिक र जगन्नाथ गाउँपालिकाको दुर्गम बस्तीका स्थानीयको गाउँमै बस चढ्ने सपना पूरा भएको छ ।

बाजुराको पिछडिएको क्षेत्रमा पर्ने यहाँका स्थानीयले पुस्तौँदेखिको गाउँमै बस चढ्ने सपना गरेका थिए । अहिले कर्णाली कोरिडोर सडकमा कालीकोटको खुलालुदेखि हुम्लाको सरीसल्लासम्म बस सञ्चालन भएपछि उनीहरूको गाउँमै बस चढ्ने सपना पूरा भएको हो ।

जिल्लाको मार्तडी, कोल्टी र पिलीचौरको बसपार्क जानु परेमा पाँच सयदेखि दुई हजार रुपियाँ जिपको भाडा तिर्नु पथ्र्यो । अहिले गाउँबस्तीमै बस सेवा सञ्चालन भएपछि त्यो पैसाले यहाँदेखि नेपालगन्जसम्म पुग्ने गरेको हिमाली गाउँपालिकाका धुलाचौर बाजुराका प्राविधिक राजम लालले बताउनुभयो । उहाँले भन्नुभयो, “यहाँका स्थानीयले बस चढ्नका लागि यसअघि मार्तडी जाँदा दुई हजार, कोल्टी पाँच सय र पिलीचौर चार सय रुपियाँ जिपको भाडा मात्र तिर्नु परेको थियो ।

अहिले खुलालुदेखि हुम्लाको सरीसल्लासम्म कर्णाली कोरिडोर सडकमा बस सेवा सञ्चालन भएपछि गाउँदेखि बसपार्कसम्म जाने त्यो पैसाले सिधै गाउँदेखि नेपालगन्ज पुग्ने गरेको मलालले बताउनुभयो ।

नेपालगन्जदेखि हुम्लाको सरीसल्लासम्म बस सुरु भए पनि अहिले हुम्ला, मुगुको सोरुकोट र खत्याड गाउँपालिकाका स्थानीयलाई निकै सहज भएको छ । लामो समयदेखि यहाँका स्थानीय बस सेवाबाट वञ्चित हुँदै आएका थिए । अहिले कर्णाली कोरिडोर सडक कालीकोटको खुलालुदेखि हुम्लाको सरीसल्लासम्म पुगेपछि बस सेवा पनि सञ्चालन भएको हो । 

२०७२ सालदेखि कालीकोटको खुलालुबाट निर्माणको काम सुरु भएको यो कर्णाली कोरिडोर सडकमा २०७४ सालदेखि बाजुराको पिलीचौरसम्म ट्याक्टर, मोटरसाइकललगायतका सवारीसाधन चल्न सुरु भएका थिए । २०८० सालमा यो सडकको पहिलो चरणको काम पूरा भएपछि २०८१ सालमा जिप, ट्रक र बसलगायतका सम्पूर्ण सवारीसाधन सञ्चालनमा आएका हुन् ।

कात्तिकको दोस्रो हप्तादेखि अहिले यहाँका चल्ने सबै सवारीसाधान धमाधम जगन्नाथ र हिमाली गाउँपालिकाको धुलाचौर हुँदै हुम्लाको सरीसल्लामा पुग्ने गरेका छन् । योभन्दा पहिला जिप, ट्याक्टर र ट्रक चल्ने गरेकाले यहाँका स्थानीयलाई दैनिक उपभोग्य सामग्री ढुवानीमा निकै सहज भएको थियो । अहिले यो सडकमा बस सञ्चालन भएपछि स्थानीयले घरकै आँगनबाट सेवा पाएका छन् । 

२०८१ सालदेखि पिलीचौरमा दैनिक बस, ट्रकलगायतका सवारीसाधन चल्न थालेपछि दैनिक उपभोग्य सामाग्री ढुवानी गर्न सहज भएको हिमाली गाउँपालिका–४ का स्थानीय नवराज भण्डारीले बताउनुभयो ।

अहिले पहिलो चरणमा यो सडकमा ग्राभेल, वाल, मेसिनरी ग्याबिन, कलभर्ट र डबल कटिङ्ग गर्ने काम भइरहेको कर्णाली कोरिडोर खुलालु सरीसल्ला सडक योजना कार्यालयका धनबहादुर बस्नेतले बताउनुभयो । कालीकोटको खुलालुदेखि जगन्नाथको पिलीचौरसम्म ६१ किलोमिटर र खुलालुदेखि सरीसल्लासम्म १२३ किलोमिटर सडकको स्तरोन्नति गर्न करिब ३६ करोड रुपियाँ खर्च भएको उहाँले बताउनुभयो । 

पिलीचौरदेखि सरीसल्लासम्मको ५० किलोमिटर कालोपत्रे गर्नका लागि चार अर्ब २५ करोड रुपियाँ सुनिश्चितताका लागि सडक विभागमा प्रक्रियामा छ । त्यो सुनिश्चितता भइसकेपछि चाँडै सडक कालोपत्रेको कामका लागि ठेक्का प्रक्रियामा जाने बस्नेतले बताउनुभयो ।