• ४ मंसिर २०८१, मङ्गलबार

पुर्खाको सिप छोडेर भारततर्फ

blog

बालबच्चासहित रोजगारी खोज्न गौरीफन्टा नाकाबाट भारत जानेको लर्को । तस्बिर सौजन्य : लालबहादुर ऐरी

बैतडी समाचारदाता 

बैतडी, मङ्सिर १ गते ।     पुर्ख्यौली पेसाले उद्योगका रूप लिन नसकेपछि छालाका जुत्ता बनाउने सार्की समुदायका युवा हातमुख जोर्नकै लागि भारततर्फ पलायन हुन थालेका छन् । पछिल्लो समय अधिकांश युवा परिवारका सदस्य र बालबच्चा बोकेर भारततर्फ हिँडेपछि विद्यालयमा विद्यार्थी सङ्ख्यासमेत घट्न थालेको छ । 

दोगडाकेदार गाउँपालिका–५, न्वाली, वनकाँडा र गोबडा गाउँमा १५० घरघुरीभन्दा बढी सार्की समुदायको बसोबास रहे पनि बेरोजगारीले गाउँ रित्तिन थालेको छ । शतप्रतिशत घरधुरीका युवा रोजगारीका लागि भारत हिँडेपछि गाउँमा मलामी जाने युवा पाउनसमेत मुस्किल हुन थालेको छ । 

पछिल्लो समय बालबच्चासहित भारत जानेको सङ्ख्या बढेपछि स्थानीय खोदमनाथ आधारभूत विद्यालयमा ११० जनाबाट विद्यार्थी सङ्ख्या घटेर ७० मा झरेको विद्यालयका शिक्षक करवीरराम सार्कीले बताउनुभयो । बस्ती रित्तिएको सूचकका रूपमा घट्दोक्रममा रहेको विद्यार्थी सङ्ख्या हेर्दा थाहा हुने उहाँले बताउनुभयो । 

दोगडाकेदारको न्वाली, वनकाँडा र गोबडा गाउँ जिल्लामै सार्की समुदायको बाक्लो बस्तीका रूपमा चिनिन्छ । यहाँ परम्परागत रूपमा हातबाटै छालाको जुत्ता बनाउने सिपालु मानिस थिए । नयाँ पुस्ताले छाला जुत्ताको काम छाडिसकेका छन् ।

आफ्नो अनुभव सुनाउँदै शिक्षक करवीर रामले भन्नुभयो, “छाला सुकाउनेदेखि प्रशोधन गरेर जुत्ता तयार गर्न एकदेखि डेढ महिना लाग्छ । छाला रङ्ग्याउन मौवाको रुखको बोक्रा, धुङ्यो, गाईको सुकेको गोबर र चुनढुङ्गा पिसेर एक हप्तासम्म पानीमा भिजाइन्छ । यी सबै काम हातबाटै गर्नु पर्दा एक जोर जुत्ता तयार गर्दा एकदेखि डेढ महिना लाग्छ । श्रम अनुसार ज्याला पाइन छाडेपछि नयाँ पुस्ताले छालाको काम सिक्न छाडेर विदेश पलायन हुँदा अहिले पुख्र्यौली  सिप लोप हुने अवस्थामा पुगेको छ ।” 

खानी अलपत्र

दोगडाकेदार गाउँपालिकामा कृषि मल बन्ने फस्फोरसको खानी पत्ता लागे पनि उद्योग सञ्चालन नहुँदा अलपत्र परेको छ । चार वर्षअघि दोगडाकेदार गाउँपालिका–३, बसौरामा फस्फोरस खानी पत्ता लगाएर भूगर्भविद् कुमार खड्का नेतृत्वको टोली फर्किएको थियो । 

खानीमा ५५ दिनसम्म ड्रिल गर्ने काम सकेर टोली फर्किएको थियो । टोलीले खानीमा २० देखि ३० प्रतिशत डिपिए मल बन्ने तìव भेटिएको औँल्याएको छ । डिपिए मलमा ४६ प्रतिशत फस्फोरस र १८ प्रतिशत नाइट्रोजन तìव मिसाएर डिपिए मल तयार हुने भएकोले फस्फोरसको खानी भेटिनु देशकै लागि ठुलो खुसीको कुरा भएको दोगडाकेदार गाउँपालिकाका अध्यक्ष चक्र कार्कीले बताउनुभयो । खानी सञ्चालनका लागि सरकारीस्तरबाटै पहल नहुँदा उद्योग सञ्चालन नभएको उहाँले बताउनुभयो । 

जिल्लामा उद्योगधन्दा र उपलब्ध खानी सञ्चालन नहुँदा रोजगारी खोज्न ठुलो सङ्ख्यामा युवा विदेश पलायन हुँदै आएका छन् । कामको खोजीमा भारतको नयाँ दिल्ली पुग्नुभएका सिगास गाउँपालिका–१ का लालबहादुर ऐरीले स्वदेशमा कुनै काम नपाउँदा कैलालीको गौरीफन्टा नाकाबाट बिदेसिनु परेको बताउनुभयो । दसैँतिहार मान्न गाउँ आएका अधिकांश युवा कैलालीको गौरीफन्टा, कञ्चनपुरको वनबासा र बैतडीको झुलाघाट नाका भएर भारत गएका छन् ।