• २८ पुस २०८१, आइतबार

जैमिनीधामको संरक्षणमा प्रदेश सरकारको चासो

blog

कास्की समाचारदाता

कास्की, कात्तिक ३० गते । जैमिनीधामको संरक्षणमा गण्डकी प्रदेश सरकारले चासो देखाएको छ । गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाले निरीक्षण गर्नुभएको छ । जैमिनी नगरपालिका–१, जैमिनीधाम पवित्र कालीगण्डकीको तटीय क्षेत्रमा अवस्थित छ । जैमिनी ऋषिले तपस्या गरेको गुफा र जैमिनीधामलाई संरक्षण, पूर्वाधार निर्माण र प्रचारप्रसार गरी पर्यटन प्रवर्धन गर्न आवश्यक रहेको मन्त्री थापाले बताउनुभयो ।

उहाँले भन्नुभयो, “कालीगण्डकीकै छेउछाउमा रहेको र प्राचीनकालमा जैमिनी ऋषिले तपस्या गरेको तपोभूमिका रूपमा चासो र चर्चा पाएको जैमिनीधामको संरक्षणमा लाग्नुपर्ने आवश्यकता देख्छु । स्थानीय तहसँग मिलेर जैमिनीधामको संरक्षण र प्रचारप्रसारमा काम गर्न प्रदेश सरकार तयार छ ।” वेदव्यास पुत्र जैमिनी ऋषिले योग साधना र तपस्या गरेको उक्त स्थलको धार्मिक पर्यटकीय महत्वलाई उजागर गर्न प्रदेश सरकार अगाडि बढ्ने उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको कालीगण्डकी कोरिडोरले गति पाएको छ । राजमार्गमा गुड्ने सवारीसाधनमा हिँडेका पर्यटकलाई जैमिनीधामको ऐतिहासिक महìव बुझाउन र धार्मिक पर्यटनको बढवा दिन आवश्यक छ ।” जैमिनी क्षेत्रको पर्यटकीय महत्वलाई उजागर गर्न प्रदेश सरकारले पहल गरिरहेको अवस्थामा यसको प्रवर्धन र विकासलाई पर्यटनसम्बद्ध सङ्घ संस्था र स्थानीयले जोड दिएको पाउँदा खुसी लागेको भनाइ उहाँको छ ।

मन्त्री थापाले पोखरा पर्यटनको राजधानी घोषणा भइसकेको अवस्थामा आसपासका गन्तव्यलाई समेट्नु जरुरी रहेको उल्लेख गर्नुभयो ।