• १० मंसिर २०८१, सोमबार

भारतीय क्रिकेटर शिखर धवन कर्णालीमा अनुबन्ध

blog

कर्णाली याक्ससँग सम्झौता गर्दै शिखर धवन ।

काठमाडौँ, कात्तिक २९ गते । नेपाल प्रिमियर लिग (एनपीएल) टोली कर्णाली याक्सले विश्व क्रिकेटकै चर्चित खेलाडी शिखर धवनलाई टोलीमा अनुबन्ध गरेको छ ।

कर्णाली बिहीबार भारतीय राष्ट्रिय टोलीबाट तीनै फर्म्याटको क्रिकेट खेलिसक्नुभएका धवनलाई अनुबन्ध गरेको जानकारी दिएको छ । अनुबन्धसम्बन्धी सम्झौतामा कर्णालीका मालिक झनक दत्त खनाल र धवनले हस्ताक्षर गर्नुभएको छ । सम्झौता रकम भने खुलाइएको छैन ।

सम्झौता हस्ताक्षर कार्यक्रममा कर्णाली याक्सका मालिक खनाल र धवनसँगै भारतका लागि कार्यवाहक राजदूत डाक्टर सुरेन्द्र थापासहित कर्णाली याक्सका सह मालिक गृहेन्द्र घिमिरेको उपस्थिति रहेको थियो ।

३८ वर्षीय बायाँ हाते ओपनरले भारतसँगै आईपिएलको दिल्ली क्यापिटल्स, मुम्बई इन्डियन्स, सनराइजर्स हैदरावाद र पन्जाब किंंग्सबाट खेलिसक्नुभएको छ । उहाँले सन् २०१६ मा हैदरावादलाई आइपिएल जिताउनुभएको थियो । उहाँले भारतलाई एसिसी एसिया कपको उपाधि पनि जिताउनुभएको छ । 

धवनलाई टोलीमा अनुबन्ध गरेपछि मालिक खनालले नेपाली क्रिकेटकै लागि ठुलो उपलब्धि रहेको बताउनुभयो । धवनले एनपीएलमा कर्णाली याक्सबाट खेल्न उत्साहित भएको बताउनुभएको छ । ‘‘कर्णाली याक्सले मलाई लिगको लागि अनुबन्ध गरेको छ । यो लिग खेल्न म निकै उत्साहित छु,’’ धवनले भन्नुभएको छ । 

धवनले भारतको लागि ३२ टेस्टमा दुई हजार तीन सय १३ रन बनाउनुभएको छ । उहाँले एक सय ६७ एकदिवसीय खेलमा ६ हजार ७ सय ९३ रन बनाउनुभएको छ । यस्तै ६८ टी–२० अन्तर्राष्ट्रिय खेलमा एक हजार ७ सय ५९ रन बनाउनुभएको छ । भारतका लागि कार्यवाहक राजदूत थापाले शिखर धवनलाई कर्णाली याक्समार्फत नेपालमा भित्राउनु पर्यटन प्रवर्द्धनको लागि सुखद् सन्देश रहेको बताउनुभयो । 

नेपालका पूर्व कप्तान ज्ञानेन्द्र मल्ल मुख्य प्रशिक्षक रहेको कर्णाली याक्सले धवनलाई चौथो विदेशी खेलाडीको रूपमा टोलीमा अनुबन्ध गरेको हो ।  यसअघि कर्णालीले वेस्ट इन्डिजका चादविक एन्टोनिओ किर्कपाट्रिक वाल्टन, पाकिस्तानका अलराउन्डर मोहम्मद हुसैन तलात र हङकङका बाबर हायतलाई अनुबन्ध गरिसकेको छ । 

कर्णालीको मार्की खेलाडीमा राष्ट्रिय टिमका तीव्र गतिका बलर सोमपाल कामी हुनुहुन्छ । अन्य खेलाडीमा गुल्शन झा, देव खनाल, नन्दन यादव, अर्जुन घर्ती, रित गौतम, मौसम ढकाल, भुवन कार्की, दीपेन्द्र रावत, युनिशविक्रम सिंह ठकुरी र दीपक डुम्रे हुनुहुन्छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले आयोजना गर्न लागेको एनपीएल मङ्सिर १५ देखि पुस ६ गतेसम्म त्रिवि मैदान कीर्तिपुरमा हुनेछ ।