• १२ पुस २०८१, शुक्रबार

कालीगण्डकीका १५६ परिवारले छाडे गाउँ

blog

कालीगण्डकी गाउँपालिकाको कार्यालय । तस्बिर: तिलाचन पाण्डे

तिलाचन पाण्डे
तम्घास, कात्तिक २८ गते ।
कालीगण्डकी गाउँपालिकाका एक सय ५६ परिवारले गाउँ छाडेका छन् । गत आर्थिक वर्षको असार मसान्तसम्म गाउँपालिकाबाट एक सय ५६ परिवारका पाँच सय ४६ जना बसाइँसराइँ गरी गएको गाउँपालिकाका प्रमुख प्रशासकीय  अधिकृत नरेश गिरीले जानकारी दिनुभयो ।

पालिकाभित्रका सात वटामध्ये सबैभन्दा बढी वडा नम्बर दुई अर्वेनी र वडा नम्बर छ खडगकोटबाट ३२ घरपरिवारले बसाइँसराइँको प्रमाणपत्र लगेका छन् ।  वडा नम्बर १ बाट १९, २ बाट ३२, ३ बाट नौ, ४ बाट १५, ५ बाट २४, ६ बाट ३२ र ७ बाट २५ परिवारले बसाइँसराइँ गरी गएको गिरीले बताउनुभयो ।

एक वर्षमा पालिकाभित्र छ परिवारका १४ जना अन्यन्त्रबाट बसाइँ सरी आएको आफूहरुको तथ्याङ्कमा रहेको गाउँपालिकाले जनाएको छ । यस बाहेक बसाइँसराइँको प्रमाणपत्र अर्थात् दर्ता नगरी गाउँबाट शहरमा कोठा भाडा गरी बस्ने र छोराछोरी पठाउन जानेको सङ्ख्या पनि बढी रहेको पाइन्छ ।

कृषि र पशुपालनलाई व्यवसायीक गराइ बसाइँसराइँ रोक्न सकिन्छ की भन्ने उद्देश्यले उत्पादनमा आधारित अनुदान प्रदान गर्ने नीति गाउँपालिकाले लिएको छ । यस्तै, सुन्तलाका विरुवा रोपण गर्नेलाई खाडल खन्न अनुदान दिने र उत्पादन मूलक क्षेत्रमा लगानी गर्ने गरी पालिकाले नीति तथा कार्यक्रम बनाएर बजेटको व्यवस्था गरेको गिरीले बताउनुभयो ।

पालिकाभित्र सात सय २८ जनाको जन्म
एक वर्षको अवधिमा गाउँपालिकाभित्र सात सय २८ जनाको जन्म भएको छ । जसमध्ये तीन सय ७५ जना पुरुष र तीन सय ५२ जना महिलाको जन्म भएको पालिकाको पञ्जिकरण शाखाले जनाएको छ । गाउँपालिकाले उपाध्यक्षसँग सुत्केरी कार्यक्रममार्फत सुत्केरी भेटन जाँदा सम्भव भएमा लोकल कुखुराको भाले नभए घिउ लिएर भेट्न जाने गरेको उपाध्यक्ष मञ्जु दर्लामीले बताउनुभयो ।

यस्तै, पालिकाले पालिकाभित्र छोरीको जन्म भएमा छोरीको खाता खोली १० हजार रुपियाँ जम्मा गरिदिने नीति लिएको छ । छोरीको नागरिकता बनेपछिमात्र उक्त रकम निकाल्न मिल्ने गरी रकम जम्मा गरिदिने गरेको स्वास्थ्य शाखा प्रमुख चन्द्रबहादुर थापाले जानकारी दिनुभयो । उक्त रकमले छोरीको उच्च शिक्षा पढ्नका लागि पनि थप प्रोत्साहन हुने उहाँले बताउनुभयो ।

एक सय ७८ जनाको मृत्यु
एक वर्षको अवधिमा पालिकाभित्र एक सय ७८ जनाको मृत्यु भएको छ । जसमध्ये एक सय चार जना पुरुष र ७३ जना महिला रहेको गाउँपालिकाले जनाएको छ । यस अवधिम १३ जनाको सम्बन्ध विच्छेद भएको र दुई सय नौ जनाको विवाह भएको पञ्जीकरण शाखाले जानएको छ ।