• १० मंसिर २०८१, सोमबार

‘ढुकढुकी ७२ मेगाहर्ज’ को मञ्चन सुरु

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, कात्तिक २८ गते । मानवीय संवेदना, सहअस्तित्व र प्रेमको कथा समेटिएको नाटक ‘ढुकढुकी ७२ मेगाहर्ज’ को काठमाडौँस्थित मण्डला थिएटरमा मञ्चन सुरु भएको छ । केदार श्रेष्ठको लेखन, परिकल्पना तथा निर्देशनमा तयार भएको नाटकलाई दयाहाङ राईले निर्माण गर्नुभएको हो । नाटकमा कलाकार मेनुका प्रधान र कर्माको अभिनय रहेको छ ।

नाटकले घटनाभन्दा पनि घटनाको प्रभावमा जन्मिएका मानवीय संवेदनाको कथालाई मञ्चमा उतारेको छ । सन्तान चाहनाको उत्कृष्ट उत्साह सँगालेका दम्पतीको जीवनमा आइपरेका जटिलता, आकाङ्क्षा, आशा, बाध्यता, विवशता, विकल्प र विश्वास नाटक ‘ढुकढुकी ७२ मेगाहर्ज’ को आवाज हो । नाटकको प्रतिक्रियासँगै उत्साहित लेखक, निर्देशक श्रेष्ठले ‘७२ मेगाहर्ज’ को शीर्षक विम्बात्मक भएको उल्लेख गर्नुभयो । निर्माता दयाहाङ राईले आफूले नाटक पढ्दा नै फुरुङ्ङ बनाएको ‘ढुकढुकी ७२ मेगाहर्ज’  निर्माण गर्न पाउँदा खुसी रहेको सुनाउनुभयो ।

नाटकको मञ्चदेखि, ध्वनि परिकल्पना, प्रकाश परिकल्पनामा मिहिन रूपमा सिर्जना गरिएको नाटक ‘ढुकढुकी ७२ मेगाहर्ज’ मण्डला थिएटरले घोषणा गरेका सात नाटकमध्ये तेस्रो हो । नाटकमा भित्री मञ्चमा मनिष ब्याञ्जू र आभा प्रधानको अभिनय रहेको छ । देव न्यौपानेको ध्वनि, घनश्याम श्रेष्ठको प्रकाश, रमिला नेम्कुलको वेशभूषा रहेको नाटकको मञ्च परिकल्पना निर्देशक स्वयम्को रहेको छ । नाटक मङ्सिर १६ सम्म हरेक दिन साँझ ५:३० बजे मञ्चन हुने छ ।