• १३ माघ २०८१, आइतबार

सङ्घीय र प्रदेश सरकारबाट पुनर्निर्माणको नीतिगत निर्णय आएन

blog

केदार तिमल्सिना 

बनेपा, कात्तिक २७ गते । गत असोजमा अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण काभ्रेपलाञ्चोक जिल्लाका विभिन्न क्षेत्रमा अर्बौं रुपियाँको क्षति भए पनि सम्बन्धित निकायबाट बाढीपहिरोपछि गर्नुपर्ने अस्थायी आवास, पुनस्र्थापना तथा पुनर्निर्माणतर्फ सङ्घीय तथा प्रदेश सरकारले ठोस निर्णय गर्न सकेका छैनन् । बाढीपहिरोबाट पीडित बनेका घरपरिवारको पुनस्र्थापना तथा पुनर्निर्माणका लागि सङ्घीय तथा प्रदेश सरकारले कुनै नीतिगत निर्णय नगर्दा पीडित मर्कामा परेका छन् । 

सङ्घीय तथा प्रदेश सरकारले गत असोज दोस्रो साताको बाढीपहिरोका कारण जिल्लाका विभिन्न क्षेत्रमा भएको क्षतिको प्रारम्भिक तथ्याङ्क सङ्कलन गरी सङ्घीय र प्रदेश सरकारमातहतका विभिन्न मन्त्रालय, विभागमा पठाए पनि हालसम्म विपत्पछि स्थानान्तरण, पुनस्र्थापना र पुनर्निर्माणका कुनै काम अघि बढ्न नसकेपछि प्रभावित परिवार निराश बनेका हुन् । 

पूर्वाधार विकास कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख सिनियर डिभिजनल इन्जिनियर राजु श्रेष्ठले बाढीपहिरोका कारण प्रादेशिक सडक, पुललगायतका क्षतिबारे तथ्याङ्क सङ्कलन गरी प्रदेश सरकारको सम्बन्धित मन्त्रालयमा जानकारी गराइए पनि त्यस विषयमा कुनै बजेट र निर्देशन नआएको बताउनुभयो । “हामीले बाढीपहिरोबाट पूर्वाधारका क्षेत्रमा भएको क्षतिबारे सम्बन्धित मन्त्रालयमा जानकारी गराए पनि हालसम्म हामीले पठाएको जानकारीमा कुनै कामकारबाही भएको छैन, यस विषयमा मन्त्रालयमा बुझ्ने काम गर्छौं,” सिडिई श्रेष्ठले भन्नुभयो । 

उहाँले बाढीपहिरोका कारण प्रादेशिक सडकतर्फ करिब ३० करोड र पुलतर्फ करिब ५० करोड रुपियाँ बराबरको भौतिक क्षति भएको बताउनुभयो । कृषि विकास कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख कुलप्रसाद दवाडीले बाढीपहिरोका कारण जिल्लामा कृषि तथा पशुपालनका क्षेत्रमा भएको क्षतिबारे स्थानीय तहसँग प्रारम्भिक तथ्याङ्क लिएर सम्बन्धित मन्त्रालय, विभागमा पठाए पनि हालसम्म मन्त्रालय र विभागबाट त्यस विषयमा कुनै सम्बोधन नभएको बताउनुभयो । “बाढीपहिरोबाट क्षति भएको डेढ महिना भइसक्यो, अहिलेसम्म तथ्याङ्क सङ्कलन गर्ने काम मात्रै भयो । सङ्कलन भएको तथ्याङ्क र सम्बन्धित कार्यालयले गरेको सिफारिसमाथि कुनै कार्यान्वयन भएन । सङ्घ तथा प्रदेश सरकार दुवैलाई बाढीपहिरोपछिको पुनस्र्थापना र पुनर्निर्माणका लागि तताउनुपर्ने अवस्था देखिएको छ,” दवाडीले भन्नुभयो । 

उहाँले बाढीपहिरोका कारण काभ्रेपलाञ्चोक जिल्लामा कृषि र पशुपालनका क्षेत्रमा करिब एक अर्ब रुपियाँ बराबरको क्षति भएको बताउनुभयो । 

सहरी विकास तथा भवन कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख इन्जिनियर भूमिनन्द ढकालले बाढीपहिरोका कारण जिल्लामा सञ्चालित विभिन्न आयोजनामा पुगेको क्षतिको जानकारी, बाढीपहिरोका कारण स्थानान्तरण गर्नुपर्ने बस्तीको विषयमा प्रदेशको मन्त्रालयमा पत्राचार गरेर जानकारी गराइए पनि हालसम्म कुनै सम्बोधन नभएको जानकारी दिनुभयो । “हामीले योजनामा पुगेको क्षतिको जानकारी, हालसम्म प्राप्त तथ्याङ्कका आधारमा बस्ती स्थानान्तरण गर्नुपर्ने विषयमा मन्त्रालयमा पटक÷पटक जानकारी गराएका छौँ तर त्यसउपर कुनै नीतिगत निर्णय र निर्देशन आएको छैन,” ढकालले थप्नुभयो । 

उहाँले बाढीपहिरोबाट जिल्लामा पुगेको क्षतिपछिको पुनस्र्थापना, पुनर्निर्माणलगायतका विषयमा मन्त्रालयमा गएर बुझ्ने बताउनुभयो । यस्तै जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय काभ्रेपलाञ्चोकले बाढीपहिरोका कारण जिल्लामा भएको क्षतिबारे बाढीपहिरो गएको चार/पाँच दिनमा गराइएको जानकारी प्रति पनि मन्त्रालयले कुनै निर्णय र निर्देशन दिन नसकेको जनाएको छ । 

उता बाढीपहिरोका कारण घरवास गुमाएका नागरिकको अस्थायी आवास निर्माणका लागि स्थानीय तहले अहिलेसम्म पीडित परिवारको यकिन तथ्याङ्क सङ्कलन गरी प्रमाणित गर्न नसक्दासमेत बाढीपहिरोपीडितको अस्थायी आवास, पुनस्र्थापना र पुनर्निर्माणको विषय अन्योल बनेको छ । यसबारे सङ्घीय र प्रदेश सरकारले समेत नीतिगत निर्णय र पीडितलाई राहत मिल्ने प्याकेज कार्यक्रम नल्याएका कारण पीडित अहिलेसम्म घरबारविहीन अवस्थामा छन् ।