• २७ पुस २०८१, शनिबार

६४ सौर्य ऊर्जा परियोजना छनोट

blog

काठमाडौँ, कात्तिक २६ गते । ऊर्जा मिश्रणको अवधारणालाई व्यवहारिक रूपमा कार्यान्वयन गर्ने लक्ष्यका साथ नेपाल विद्युत् प्राधिकरणले ६४ वटा ऊर्जा कम्पनी छनोट गरेको छ ।

प्राधिकरणले प्रतिस्पर्धाका आधारमा ती कम्पनी छनोट गरेको जनाएको छ । ऊर्जा मिश्रण अवधारणा कार्यान्वयन गर्ने र हिउँदको ऊर्जा माग सम्बोधन गर्ने लक्ष्यका साथ सौर्य परियोजनालाई व्यवहारिक रूपमा कार्यान्वयन गर्न मार्ग प्रशस्त गरेको हो ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार तराईका विभिन्न जिल्लामा सौर्य परियोजनालाई अगाडि बढाउन लागिएको हो । प्राधिकरणले एक हजार मेगावाट क्षमता बराबरका आयोजना अगाडि बढाउन लागेको हो ।

प्राधिकरणले यसअघि आठ सय मेगावाट बराबरको सौर्य परियोजना अगाडि बढाउने निर्णय गरेको थियो । त्यसमा २० प्रतिशत थप गर्ने निर्णय भएको थियो । प्राधिकरणले छनोट गरेका आयोजनाको क्षमता एकदेखि ५० मेगावाट बराबर छन् । हाल छनौट भएका ६४ परियोजनाको कूल क्षमता भने नौ सय ७४ मेगावाट बराबर छ ।

प्राधिकरणले प्रतिकिलोवाट चार रुपियाँ ९९ पैसादेखि पाँच रुपियाँ ५५ पैसासम्मको दर तय गरेको छ । बिहान ६ देखि साँझ ६ बजेसम्म खरिद गर्ने गरी प्राधिकरणले सौर्य ऊर्जा उत्पादक कम्पनीसँग आवश्यक प्रक्रिया अगाडि बढाइने जनाएको छ ।

हिउँदमा नदीको जलस्तर घटन गई ऊर्जा उत्पादन केन्द्रहरूले कम क्षमतामा मात्रै बिजुली उत्पादन गर्ने भएकाले सौर्य परियोजनाको अवधारणा अगाडि सारिएको हो । दिनभरको माग सम्बोधन गर्न सौर्य ऊर्जा प्रभावकारी हुने ठहरसहित तत्कालका लागि झण्डै एक हजार मेगावाट बराबरको बिजुली प्रणालीमा जोडन लागिएको हो ।

दिनको माग धान्न वैकल्पिक व्यवस्था गर्न सकिए साँझ वा रातको माग भने जलविद्युत् आयोजनाले सम्बोधन गर्ने विश्वास लिइएको छ । सरकारले ठुला जलाशयमुक्त आयोजनाको अवधारणा अगाडि सारेपनि निर्माण सम्पन्न गर्न लामो समय लाग्ने देखिन्छ ।

केही जलाशययुक्त आयोजनाको प्रक्रिया अगाडि बढाइएको भए पनि लगानीको ढाँचालगायतका विषयमा सहमति जुट्न नसक्दा निर्माणमा जान ढिलाइ भइरहेको छ । जानकारहरूका अनुसार एकदेखि डेढ वर्षभित्रमा सौर्य परियोजनाले बिजुली उत्पादन गर्ने भएकाले प्रणाली व्यवस्थापन गर्न सहज हुने छ । रासस