• १२ पुस २०८१, शुक्रबार

लोप हुँदै सिँगडा खेती

blog

तस्बिर : छविलाल पाण्डे

छविलाल पाण्डे 

बुटवल, कात्तिक २६ गते । पोखरीमा फल्ने सिँगडा रुपन्देहीमा लोप हुँदै गएको छ । पोखरी पुरिँदै र लोप हुँदै गएपछि सिँगाडा खेती पनि लोप हुँदै गएको हो । 

तराईमा ठूलो एकादशीमा सिंगाडा खाने चलन छ तर पोखरीमा मात्रै फल्नै सिंगाडा नै लोप हुन थालेपछि बजारमा सिँगडा किन्न समेत पाउन छोडिएको छ। तराईमा सिँगडा स्थानीयले व्रत बस्दा खाने, पाहुनालाई पाहुर पठाउन तथा भगवानलाई प्रसादका रूपमा चढाउन लोकप्रिय छ तर पछिल्लो समय जहाँतहीँ पाउन मुस्किल पर्दै गएको छ । 

अहिले बजारमा सिंगाडा एकसय रुपियाँ किलो छ । त्यही पनि बजारमा सिंगाडा किन्न उपभोक्ताको भीड नै लाग्ने गरेको छ । चाडबाडको बेला एकसय रुपियाँमा विक्री हुने सिँगडा चाडपर्व सकिएपछि किलोमा ३० देखि ४० रुपियाँमा विक्री गर्नुपर्ने बाध्यता छ । 

रुपन्देहीको दक्षिणी क्षेत्रका किसानले सिँगडा रोप्दै आएपनि पोखरीको अभाव सिँगडाको बिउ समेत कम पाइने भएकोले यो खेती गर्नेहरू पनि कम हुँदै गएका छन् । सिँगडा उत्पादन गर्न समेत निकै गाह्रो हुने सिँगडा किसान गुनासो गर्छन् । रोप्नकै लागि भारतबाट बिउँ किनेर ल्याउनु पर्ने, पोखरीमा रोपिसकेपछि पटक-पटक औषधी राख्नुपर्ने र चराचुरुङ्गीले समेत सिँगडा खाइदिँदा सिँगडा जोगाउनै समस्या परेको किसानहरूको भनाइ छ । 

रुपन्देहीमा लोप हुँदै गएको यो खेती रोहिणी गाउँपालिका ३ लक्ष्मीनगरका दुखी तुराहाले विगत १५ वर्षदेखि गर्दै आउनुभएको छ । ७२ वर्षीय तुराहाका परिवारले रोहिणी ३ लक्ष्मीनगरमा १५ कठ्ठा पोखरी भाडामा लिएर सिँगडा खेती गरिरहेका छन् । 

असारमा रोपेपछि असोज, कात्तिकसम्म तयार हुने सिँगडा फल स्थानीय गाउँ, बजारमै विक्री हुन्छ । फागुनसम्म उक्त फलको सिजन रहन्छ । त्यसपछि बिरुवा पानीमै कुहिन्छ र मल बन्ने गर्दछ । 

विगत ३० वर्षदेखि तुराहा र उहाँको परिवारले सिँगडा खेती गर्दै आएका छन् । धान खेती गर्न आफ्नो जमिन नभएकाले तुराहाले पोखरी भाडामा लिएर सिँगडा खेती गर्दै आएका छन् । सिँगडा टिप्न पोखरीभित्र जानुपर्ने, पानीमा भिज्नुपर्ने भएकोले पनि सिँगडा खेती गर्ने किसानको सङ्ख्या घटेको छ । 

रोहिणी गाउँपालिकाका कृषि प्राविधिक जितेन्द्र यादवले सिँगडा खेती गर्ने किसानको सङ्ख्या पहिले धेरै रहेपनि पोखरी मासिँदै गएपछि यसको खेती गर्नेहरू समेत घटेको बताउनुभयो । उहाँका अनुसार सिँगडा खेती गर्नुभन्दा पोखरीमा पसेर टिप्न नै समस्या हुने, चराले खाने, बीउ पाउन समस्या लगायतका कारण खेती गर्नेहरू घट्दै गएका छन् । कृषि ज्ञान केन्द्र रुपन्देहीमा भने सिँगडा खेती गर्ने किसानको सङ्ख्या कति छ भन्ने तथ्याङ्क छैन ।