• २७ पुस २०८१, शनिबार

‘धार्मिक स्थल माङसेबुङलाई विशेष रूपमा हेर्नुपर्छ’

blog

कांग्रेस नेता डा. शेखर कोइराला फाल्गुनन्दको १४० औँ जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै । तस्बिर : कोकिला ढकाल

कोकिला ढकाल

इलाम, कात्तिक २५ गते । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले किरात धार्मिकस्थलका रुपमा रहेको माङसेबुसङ क्षेत्रलाई धार्मिक क्षेत्र विकासका रुपमा विस्तार गर्नुपर्ने बताउनुभएको छ ।  

राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको जन्मजयन्तीका अवसरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै डा. कोइरालाले इलामको लारुम्बास्थित माङसेबुङलाई पशुपतिनाथ क्षेत्र विकासजस्तै गरेर विकास गर्नुपर्नेमा जोड दिनुभयो । 

‘संस्कृतिको जगेर्ना गर्नुपर्छ, संस्कृति भनेको व्यक्ति, समाज र समुदायको पहिचान हो’ कोइरालाले भन्नुभयो, ‘धार्मिक र आध्यात्मिक क्षेत्रको तपोभूमि नेपाल समस्त मानव जातिको आकर्षणको केन्द्रका रूपमा रहेको छ । माङसेबुङ पनि एक तपोभूमि हो ।’ 

कोइरालाले फाल्गुनन्दको अवतरणले ज्ञान र चेतनाको ज्योति प्रदान गरेको भन्दै फाल्गुनन्दले कोरेको बाटोलाई पनि सही ढङ्गले पहिचान गरी त्यसको संरक्षण संवर्द्धनमा लाग्नुपर्ने बताउनुभयो । जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रममा माङसेबुङस्थित किरात धर्मगुरु आत्मनन्द लिङदेनको समेत उपस्थिति थियो ।