• ५ मंसिर २०८१, बुधबार

मारुनी नाच पुस्तान्तरणको प्रयास

blog

मारुनी नाच नाच्दै स्थानीय ।

बोमलाल गिरी

नवलपुर, कात्तिक २५ गते । युवा पुस्ताले चासो नदिँदा परापूर्व कालदेखि चल्दै आएको मारुनी नाच सङ्कटमा पर्न थालेपछि नवलपुरको पहाडी क्षेत्रमा पाका पुस्ता युवालाई समेत समेटेर यसको संरक्षणमा जुटेका छन् । 

युवा पुस्ता अध्ययन तथा रोजगारीका लागि कतिपय गाउँ बाहिर र कोही देशबाहिर जाने क्रम बढेपछि पाका पुस्ताले मारुनी नाचलाई पुस्तान्तरणको प्रयास गरेको हो । नवलपुरको बुलिङटार–४ देउरालीका पाका पुस्ताले युवाहरूको समूह बनाई मारुनीको संरक्षण गर्दै पुस्तान्तरणमा जुटेका हुन् । 

मारुनी नाचका अगुवा बुलिङ्गटार–४ का मनवीर पुलामी उमेरले ५६ वर्ष कटि सक्नुभयो । तर उहाँको मारुनी नाच्ने र गाउने मोह भने युवा पुस्ताकै जस्तो छ । उहाँ युवापुस्तालाई साथमा लिएर विभिन्न स्थानमा मारुनी नाच देखाउन पुग्नुहुन्छ । आफूले जाने बुझेदेखि  बाबुबाजेका साथ मारुनी देखाउन थालेको बताउँदै पुलामीले गाउँमा रहेका युवालाई पनि आफूसँगै लिएर हिड्नेगरेको बताउनुभयो । 

१८ वर्षको उमेरदेखि मारुनी नाच्न सिकेका पुलामीले पुराना पुस्ताको सहयोगमा युवा पुस्तालाई सिकाउने गर्नुभएको छ । गाउँमा उहाँको अगुवाइमा मारुनी नाच समूह गठन गरिएको छ । चाडपर्व तथा पारिवारिक हर्ष बढाइमा उहाँकै नेतृत्वको समूहले गाउँमा मारुनी नाचलाई निरन्तरता दिँदैआएको छ । 

गाउँमा मारुनी नाच देखाउँदा ७० देखि ८० जनासम्मको सहभागिता रहने स्थानीय जमानसिंह अस्लामी मगरले बताउनुभयो । विगतका वर्षमा मारुनी नाचमा युवाको सहभागिता निकै कम हुने भए पनि अहिले मारुनी देखाउने समूहमा युवा पुस्ताको बाक्लो सहभागिता हुने गरेको मगरको भनाइ छ । 

‘पोहोर परार ७०–८० जनामा मुस्किलले १५–२० जना युवा हुन्थे, अहिले बिस्तारै यो सङ्ख्या बढ्न थालेको छ, अहिले आधाआधी सङ्ख्यामा युवा पुस्ता सहभागी हुन्छन्, मगरले भन्नुभयो । 

देउरालीको यो मारुनी नाच समूह आजकल आफ्नो गाउँमा मात्र नभई छिमेकी गाउँ तथा तनहुँ लगायतका विभिन्न जिल्लामा पनि नाच्न जाने गरेको छ । अहिले अर्खला, देउराली, डेढगाउँ लगायतका गाउँहरूमा पनि समूह बनाएर मारुनी संरक्षणमा पाका र युवा पुस्ता जुटेको बुलिङ्गटार–४ का वडा अध्यक्ष मीनबहादुर आलेले बताउनुभयो ।

मारुनी नाच दसैँ तिहारमा सुरु गर्ने नृत्य भए पनि कतै भने तीजदेखि नै सुरु हुन्छ । प्रायः स्थानमा दसैँको कालरात्रिदेखि यो नाच सुरु हुन्छ । देउरालीका मगर समुदायले दशैको कालरात्रिदेखि देवी देवताको पूजा गरेर मारुनी नाच्न सुरु गर्ने गरेको मारुनी नाच समूहका अध्यक्ष पुलामीले बताउनुभयो । 

उहाँका अनुसार मारुनीका गीतमा कृष्ण चरित्रको कथालाई गीतिलयमा प्रस्तुत गर्ने गरिन्छ । बडा दसैँको अष्टमीको कालरात्रिमा सुरु भएर नवमी, दसैँको टीका र टीकाको भोलिपल्टसम्म नाच देखाउने गरिन्छ । लगत्तै तिहारको समयमा तिहारे औँसीको दिनदेखि फेरि मारुनी नाच देखाउन सुरु गरिन्छ । औँसीको दिनभरि गाउँका घर–घरमा गएर मारुनी नाच देखाइने र घरबेटीले कात्तिके दान दिने चलन छ । 

मारुनी समूहलाई कार्तिके दान दिए रोगब्याधी नलाग्ने, ग्रह गोचर राम्रो हुने मगर समुदायमा जनविश्वास रहेको अध्यक्ष आलोले बताउनुभयो । तिहारको टीकाको भोलिपल्टसम्म नाच देखाउने र त्यसपछि गाउँवासीका घरमा हुने पूजाआजा, न्वारन, छेवर, विवाहजस्ता हर्षबढाइँका अवसरमा मारुनी देखाउने गरिएको उहाँले बताउनुभयो । 

दसैँको कालरात्रिबाट सुरु गरिएको मारुनी नाच मङ्सिर महिना सकिएसँगै अर्को वर्षको बडा दसैँको कालरात्रिसम्मका लागि रोकिने पुलामी बताउनुहुन्छ । विशेष गरेर सरस्वती पूजा गरेर सुरु गरिने नाच सरस्वतीको पूजा गरेरै समापन गर्ने गरिन्छ ।

मारुनी नाचमा कम्तीमा दुई मारुनी, दुईदेखि तीन मादले, एक पुर्सुङ्गे तथा छ देखि १० जनासम्म गायक हुन्छन् । गायकमध्ये एक गुरु हुन्छन् । गुरुले गीत झिकेपछि अन्य कलाकारले छोप्ने र नाच्ने गरिन्छ ।

गीत निकाल्ने गुरुलाई ‘रौरा’ भनिन्छ । ‘मारुनी’ नै नृत्यको मुख्य पात्र हुन् । मारुनी मादलेको तालसँगै अगाडि–पछाडि घुमेर नाच्छन् । महिलाको भेषभूषामा सजिएर एक पटक मारुनी बनिसकेपछि नाचको पूरा अवधिसम्म मारुनी बदलिन पाउँदैनन् । एउटा गीत पूरा नहुँदासम्म नाचिरहनु पर्दछ ।

मारुनीसँगै पुर्सुङ्गे पनि नाच्छन् । पुर्सुङ्गेले महिलाको कपडा लगाएको हुँदैन । मारुनीकै हाउभाउमा ताल मिलाउँदै सँगसँगैजसो पुर्सुङ्गे नाच्ने गर्दछन् । पुर्सुङ्गे फेरबदल हुन सक्छन् । मारुनी नाचमा मादल, झ्याली, मुर्चुङ्गा लगायतका विभिन्न वाद्यवादनका सामग्री आवश्यक पर्छ ।