गोरखापत्र समाचारदाता
काठमाडौँ, कात्तिक २५ गते । मारवाडी सेवा समिति अन्तर्गतको पशुपति गौशाला धर्मशालाले ८४ औँ गोपाष्टमी महोत्सवका अवसरमा आयोजित कार्यक्रममा सात जनालाई निःशुल्क कृत्रिम खुट्टा वितरण गरेको छ । धर्मशालाले आवश्यक पर्ने व्यक्तिलाई जुनसुकै बेला निःशुल्क कृत्रिम खुट्टा वितरण गर्दै आएको छ । चाडपर्वको बिदाका कारण यसबिचमा काम रोकिएको थियो ।
मारवाडी सेवा समितिका अध्यक्ष प्रमोदकुमार अग्रवालले २०५४/५५ सालबाट निःशुल्क कृत्रिम खुट्टा वितरण कार्यक्रम सुरु गरेको जानकारी दिनुभयो । उहाँका अनुसार यसबाट हालसम्म छ हजार सात सय जना लाभान्वित भएका छन् । आगामी दिनमा पनि निःशुल्क कृत्रिम खुट्टा वितरण कार्यक्रम निरन्तर रहने उहाँले बताउनुभयो ।