• १९ पुस २०८१, शुक्रबार

बाँकेमा विभिन्न प्रजातिका ६३ सर्पको उद्धार

blog

सर्प उद्धार गर्दै आएको डिभिजन वन कार्यालय बाँके। तस्बिरः सिराज खान

सिराज खान 

नेपालगन्ज, कात्तिक २४ गते। बाँके जिल्लामा गत साढे तीन महिनाको अवधिमा ६३ वटा सर्पको उद्धार गरिएको छ। 

डिभिजन वन कार्यालय बाँकेले चालु आर्थिक वर्ष २०८१/०८२ को साढे तीन महिनामा ६३ वटा सर्पको उद्धार गरेको जनाएको छ।

सर्पदंशबाट मानिसलाई बचाउन र सर्पलाई पनि मानिसबाट हानी नहोस् भन्ने उद्देश्यले वन कार्यालयले सर्पको उद्धार गर्दै आएको कार्यालयका वरिष्ठ वन अधिकृत बाबुराम पोखरेलले जानकारी दिनुभयो।

उहॉका अनुसार उद्धार गरिएका सर्पमा संरक्षित वन्यजन्तु वर्गमा राखिएको अजिंगर सात वटा र दुर्लभ मानिने दुईमुखे एउटासहित नौ प्रजातिका सर्प रहेका छन्। 

वन कार्यालयको कात्तिक ११ गतेसम्मको तथ्यांकअनुसार सबैभन्दा बढी १४ वटा करेत सर्प समातिएका छन् भने ११/११ वटा रसेल्स भाइपर र फेटारा, १० वटा धामन सर्पको उद्धार गरिएको छ। 

यसैगरी, ६ वटा गोमन सर्प, दुईवटा क्राईट स्नेकको पनि उद्धार गरिएको छ।

मानव बस्ती क्षेत्रमा भेटिएका सर्पलाई उद्धार गर्न आएको अनुरोध अनुसार बढी सर्पलाई उद्धार गरी वन तथा निकुञ्जमा सुरक्षित तवरले छोड्ने गरिएको वरिष्ठ वन अधिकृत पोखरेलले बताउनुभयो।

यसैगरी, वन कार्यालयले अन्य पाँच प्रजातिका जनावरको पनि उद्धार गरेको जानकारी दिएको छ। तीमध्ये दुई वटा रतुवा र एक–एक वटा गोही, सुनगोहोरो र चितुवाको पनि उद्धार गरिएको कार्यालयले  जनाएको छ।