• १९ पुस २०८१, शुक्रबार

स्थानीय निर्वाचन सुरक्षा तयारी

blog

गोरखापत्र समाचारदाता 

काठमाडौँ, कात्तिक २४ गते । आगामी मङ्सिर १६ गतेका लागि तय भएको स्थानीय तह उपनिर्वाचनका सुरक्षा तयारी सुरु भएको छ । गृह मन्त्रालयले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागलाई आवश्यक तयारीमा जुट्न निर्देशन दिएपछि तीन वटै सुरक्षा निकायले तयारी सुरु गरेका हुन् ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीका अनुसार निर्वाचनकेन्द्रित जनशक्ति, बस्दोबस्तीलगायत निर्वाचन आयोग तथा अन्य सरोकारवाला निकायसँग समन्वय गर्ने गरी जिम्मेवारी प्रहरी उपरीक्षक सञ्जय थापालाई तोकिएको छ ।

स्थानीय तह निर्वाचन सुरक्षार्थ नेपाली सेनासहितको सुरक्षा सयन्त्र परिचालन हुनुअघि आन्तरिक तयारी र समन्वयको सहजीकरणका लागि गठित केन्द्रीय समितिले अन्तरनिकाय समन्वय गर्ने छ । सेनासहितको एकीकृत सुरक्षा योजना बनेपछि निर्वाचन हुने स्थानको सुरक्षा, अनुगमन, सुरक्षाकर्मी परिचालन, थप जनशक्ति माग, विभिन्न सुरक्षा रणनीतिको अध्ययन हुने छ । उपनिर्वाचन हुने जिल्लाका प्रहरी प्रमुखसँग चुनावका क्रममा हुन सक्ने सुरक्षा चुनौती र आवश्यक रणनीतिक योजनासमेत केन्द्रीय निर्वाचन सुरक्षा समितिले माग गरेको छ ।