• १० मंसिर २०८१, सोमबार

मानव अधिकार उल्लङ्घन मधेशमा बढी

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, कात्तिक २४ गते । सात प्रदेशमध्ये सबैभन्दा बढी दलित मानव अधिकार उल्लङ्घनका घटना मधेश प्रदेशमा भएको अध्ययन प्रतिवेदनले देखाएको छ । २०८० सालमा भएका घटनाको अध्ययन प्रतिवेदनले जातीय भेदभाव तथा छुवाछुत र दलित मानव अधिकार उल्लङ्घन मधेश प्रदेशमा बढी देखाएको हो ।

शुक्रबार सार्वजनिक गरिएको दलित मानव अधिकार पुस्तक, २०८० का अनुसार मधेशपछि कर्णाली प्रदेशका दलितमाथि बढी घटना भएका छन् । दलित मानव अधिकार उल्लङ्घनका घटनामा सुदूरपश्चिम प्रदेश तेस्रो स्थानमा छ भने लुम्बिनी चौथो स्थानमा देखिन्छ । सबैभन्दा कम कोशी प्रदेशमा घटना भएका छन् । प्रतिवेदन अनुसार वर्षभरिमा ५९ वटा घटनामध्ये मधेशमा १६, कर्णालीमा ११ र सुदूरपश्चिममा १० वटा दलित मानव अधिकार उल्लङ्घनका घटना भएका छन् । यस्तै लुम्बिनीमा आठ, बागमती र गण्डकीमा पाँच/पाँच र कोशीमा चार वटा घटना भएका छन् । मधेशमा २७ प्रतिशत घटना भएका छन् भने कोशीमा ७ प्रतिशत भएका छन् । 

कार्यक्रममा वन तथा वातावरण राज्यमन्त्री रूपा विकले संविधानमा उल्लिखित हक अधिकार कार्यान्वयनमा ढिलासुस्ती हुँदा दलितमाथिको विभेद र हिंसा नरोकिएको बताउनुभयो । उहाँले संविधानको कार्यान्वयनमा जोड दिनुभयो । सो अवसरमा दलित समुदायबाट विद्यावारिधि (पिएचड) उपाधि हासिल गर्ने २९ जनालाई सम्मान गरिएको छ ।