• १० मंसिर २०८१, सोमबार

गाउँपालिका अध्यक्षको पालो अन्तिममा

blog

जुस पेल्नुअघि स्याउ पखालेर काट्दै स्थानीय ।

 अमृतप्रसाद पौडेल

म्याग्दी, कात्तिक २४ गते । जनताको धुरीबाट धुवाँ नपुत्ताएसम्म आफूले नखाने राष्ट्रप्रमुख रहेको इतिहास पढेको नेपाली समाजमा अचेल जनप्रतिनिधिदेखि राष्ट्रसेवक कर्मचारी वा समाजका अगुवाले अवसर वा सेवा प्राप्तिको पहिलो दाबी गर्छन् तर मुस्ताङको मार्फामा भने त्यस्तो छैन । यहाँ हैसियत वा पहुँचका आधारमा कसैले पनि सेवाको प्राथमिकता पाउँदैनन् र पाउनु पर्छ भनेर कसैले दाबी पनि गर्र्दैनन् । मार्फामा अझै समानताको सामाजिक बन्दोबस्त कायमै छ ।

मुस्ताङको घरपझोङ गाउँपालिका–२, मार्फा बस्तीमा हरेक वर्ष स्याउको ‘सिजन’ मा जुस बनाउने गरिन्छ । यस पटक गाउँपालिका अध्यक्ष मोहनसिंह लालचनको जुस बनाउने पालो अन्तिम दिनमा परेको छ ।

मार्फा गाउँ समाजले आफ्नो जुस फ्याक्ट्रीमा स्याउको जुस पेल्न गोलाप्रथाबाट दिन निकालेको थियो । असोजको २९ गतेबाट सुरु भएको जुस पेल्ने काम कात्तिक १८ गतेसम्म सञ्चालन भएको थियो । गोला हालेर कति गते कसको पालो भनेर निर्धारण गर्दा गाउँपालिका अध्यक्ष लालचनको पालो अन्तिम दिन अर्थात् कात्तिक १८ गते परेको थियो । लालचनले भन्नुभयो, “पालो अन्तिममा प¥यो केही भएन, ठिकै भयो ।” 

गाउँ मुखियाको रोहवरमा गोला हालेर पालो निर्धारण गर्ने गरिएको मार्फाका पूर्वमुखिया दीपक लालचनले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “कोही सानो ठुलो भन्ने हुँदैन, सबैले नाम टिपाउने हो अनि गोला हालेर कुन दिन जुस बनाउने पालो पर्छ त्यही दिन आफ्नो स्याउ लिएर आउने अनि जुस बनाएर लैजाने हो ।” उहाँका अनुसार मार्फा गाउँ समाजले लगानी गरेर निर्माण गरेको जुस फ्याक्ट्रीमा आधुनिक प्रविधिको प्रयोग गरेर हरेक सामग्रीलाई निर्मलीकरण गरी जुस बनाउने गरिन्छ । एक व्यक्तिले आफ्नो १५० केजी स्याउको जुस बनाउन पाउने प्रावधान छ । त्यसका लागि स्याउसँगै जुस लैजाने बोतल पनि सफा गरेर ल्याउनुपर्ने हुन्छ । उक्त बोतललाई फ्याक्ट्रीमा एक सय डिग्रीभन्दा माथिको तापव्रmममा निर्मलीकरण गरेर मात्रै जुस प्याक गर्ने उहाँको भनाइ छ । मार्फा गाउँका मुखिया विजय हिराचनले गाउँका सबै जातजातिले जुस पेल्न पाउने, सबै समान हुने बताउनुभयो । नाम लेखाएपछि गोला हालेर उनीहरूको पालो निर्धारण हुन्छ, कसैलाई पनि यही दिनभन्दा पनि गोलामा जे पर्छ त्यही अनुसार समान तवरले जुस पेल्ने मौका पाउने उहाँको भनाइ छ । 

म्युनिख युनिभर्सिटीले दिएको प्रविधि प्रयोग गरेर पछिल्लो ४० वर्षदेखि स्याउको जुस बनाइँदै गरेको गाउँमुखिया विजय हिराचनले बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रो यहाँ कुनै विभेद हुँदैन र थप शुल्क लिइँदैन, बोतलमा बिर्को तथा लेबल अनि जुस बनाउँदा प्रयोग भएको ग्यासको खर्च हिसाब गरेर दामासाहीले सबैले बेहोर्ने गरिन्छ । कुनै पनि प्रकारको विभेद पनि यहाँ हुँदैन, जुस बनाउने फ्याक्ट्रीका मुख्य नाइके सोम परियार हुनुहुन्छ । २९ असोजदेखि सुरु भएको स्याउ पेल्ने कार्यको मेरै पालो १२ कात्तिकमा परेको थियो ।” 

मार्फामा जुस पेल्ने फ्याक्ट्री हेर्न आन्तरिक तथा बाह्य पर्यटक पनि आउने गरेको जुस फ्याक्ट्रीका नाइके सोम परियारको भनाइ छ । मार्फामा जुस बनाउने होस् या अन्य कुनै पनि कार्यमा कुनै पनि प्रकारको विभेद नहुने उहाँले जानकारी दिनुभयो । उहाँ भन्नुहुन्छ, “कैयौँ वर्षदेखि मैले यहाँ काम गर्दै आएको छु र हरेक दिन सबै जातजातिका व्यक्तिको पालो पर्छ तर कसैले पनि अहिलेसम्म केही भन्नुभएको छैन, यहाँ विभेदरहित तबरले काम हुन्छ ।”