• २७ पुस २०८१, शनिबार

भैलोबाट संकलित एक लाख क्यान्सर पीडितलाई

blog

सहयोग रकम हस्तान्तरण गर्दै वडाअध्यक्ष दीपक पाण्डेय लगायत । तस्विरः लीलाधर वली

लीलाधर वली

घोराही, कात्तिक २३ गते । भैलोबाट संकलित रकम क्यान्सर पीडित बिरामीको उपचारका लागि सहयोग गरिएको छ । घोराही उपमहानगरपालिका –१० मा रहेको प्रकृति लोक सांस्कृतिक क्लवले तिहारका अवसरमा भैलो खेलेर संकलन गरेको डेढ लाख रुपियाँमध्ये एक लाख रुपियाँ क्यान्सरपीडित गौमती थापाको उपचारका लागि सहयोग गरेको हो । 

घोराही उपमहानगरपालिका –१० नारायणपुरमा रहेको न्यू स्टार फुटबल एकेडेमीका खेलाडी भीमसेन थापाकी आमा गौमती थापा स्तन क्यान्सर रोगका कारण बीपी. कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवनमा उपचाररत हुनुहुन्छ । 

बिरामीको उपचारमा सहयोग पुगोस् भनेर भैलोबाट संकलन गरिएको रकम सहयोग गरिएको प्रकृति लोक सांस्कृतिक क्लवका अध्यक्ष आशिष पुनले बताउनुभयो । भैलोबाट संकलित रकम प्रत्येक बर्ष सामाजिक कार्यमा लगाउने गरेको भन्दै अध्यक्ष पुनले यो बर्ष बिरामीको उपचारका लागि सहयोग गरिएको बताउनुभयो । 

अध्यक्ष पुनका अनुसार गत बर्ष भैलोबाट संकलन गरिएको एक लाख मूल्य बराबरको विभिन्न सामाग्री क्लवले घोराही उपमहानगरपालिका –१० मा रहेको सेवाघर, वडा १६ मा रहेको वृद्धआश्रम र तुलसीपुरमा रहेको मानव सेवाघरमा सहयोग गरेको थियो । 

उक्त रकम घोराही उपमहानगरपालिका –१० का अध्यक्ष दीपक पाण्डेय, नेपाल पत्रकार महासंघ दाङ शाखा सचिव आर.के.शीतल र क्लवका अध्यक्ष आशिष पुनले संयुक्त रुपमा क्यान्सर रोग पीडित गौमाता थापाका छोरा भीमसेन थापालाई नगद हस्तान्तरण गर्नुभएको थियो । 

क्लवका संस्थापक सुनिल पुनको सम्झनामा उक्त रकम शुक्रबार एक कार्यक्रमबिच हस्तान्तरण गरिएको थियो । सहयोग रकम हस्तान्तरण गर्दै वडा अध्यक्ष पाण्डेयले भैलोबाट संकलित रुकमलाई बिरामीको उपचारका लागि खर्च गरेर सामाजिक पुन्यको काम गरेको बताउनुभयो । तिहारका अवसरमा भैलो खेल्ने र पिकनिक वा भ्रमण जाने संस्कृति मौलाइरहेको समयमा आर्थिक रुपमा विपन्न परिवारलाई उपचारमा सहयोग गरेर महत्वपूर्ण काम गरेको बताउनुभयो । 

क्लवले बिरामी गौमती थापाको उपचारका लागि सहयोग गरिदिन सबैसँग आग्रह गरेको छ । बिरामीको उपचारका लागि ४३ लाख रुपियाँ लाग्ने अस्पतालले भनेको र घरको कमजोर आर्थिक अवस्थाका कारण उपचारमा समस्या भइरहेको भन्दै क्लवका अध्यक्ष पुनले सबैसँग थोरै भए पनि आर्थिक सहयोग गर्न आग्रह गरेको छ ।