अमृतप्रसाद पौडेल
म्याग्दी, कात्तिक २२ गते । वैदेशिक रोजगारीमा पुगेर फर्केपछि रुकुमबाट मुस्ताङ आइपुग्नु भएका लब्सन बिकले घोडामा मुक्तिनाथ दर्शनका लागि मानिस बोक्न थाल्नु भएको थुप्रै वर्ष भयो । उहाँका अनुसार घोडामा मान्छे ओसारेर घरव्यवहार चलेको छ ।
मुस्ताङको मुक्तिनाथमा घोडा सञ्चालन गर्न थालेपछि आफ्नो आम्दानी र सन्तुष्टि दुवै भएको उहाँको भनाइ छ । मानिसहरुको आगमन धेरै हुँदा भने विदेश जाँदा गर्ने लगानीभन्दा कम लगानीमा उताभन्दा धेरै कमाइ गर्न पनि सकिने उहाँ बताउनुहुन्छ ।
पछिल्लो आठ वर्षदेखि आफ्नै घोडा सञ्चालन गर्दै आउनुभएका मुस्ताङको बारागुङ मुक्तीक्षेत्र गाउँपालिका –१ लुप्राका ३३ वर्षीय बुद्धि बिकले आफ्नो सात जनाको परिवार यही पेसाबाट चलाउँदै आउनु भएको छ । घरमा आफूसहितको सात जनाको परिवार धान्न घोडा सञ्चालन निकै राम्रो भएको उहाँको भनाइ छ ।
वार्षिक रुपमा दुई पटक गरी १४ हजार रुपियाँ गाउँ मुखियालाई तिरेपछि घोडा चलाउन पाइने उहाँको भनाइ छ । नेपाली पर्यटकलाई वसपार्कदेखि मन्दिरसम्म पुगाएको नेपाली चारसय रुपियाँ र भारतीय तथा अन्य मुलुकका पर्यटकका लागि ६ सय ४० रुपियाँ शुल्क गाउँ मुखियाले नै तोकेको र सोही अनुसारको शुल्क आफूले लिने गरिएको उहाँले बताउनुभयो ।
मुक्तीनाथ क्षेत्रका मुखिया लोप्साङ गुरुङले घोडा सञ्चालन गर्न वार्षिक रुपमा दुई पटक गरेर १४ हजार रुपियाँ शुल्क उठाउने गरेको बताउनुभयो । उहाँका अनुसार त्यस क्षेत्रमा घोडा सञ्चालन गर्नका लागि हरेक ६ महिनामा सात हजार रुपियाँका दरले शुल्क लिइने र त्यही शुल्कबाट सरसफाइ तथा मर्मत सम्हार गर्ने गरिएको छ ।
घोडा हिड्ने बाटो सरसफाइ र मर्मत गर्नुका साथै घोडाको स्टेशन निर्माण, मर्मत तथा घोडाका लागि पानीको जोहो पनि त्यही घोडा दर्ता शुल्कबाट गर्ने गरिएको छ ।
मुस्ताङको मुक्तिनाथका पर्यटन व्यवसायी सुरज गुरुङले मुस्ताङमा परापूर्वकालदेखि नै घोडा जात्रा हुने र त्यो अहिले कम भएको भए पनि यहाँ चल्ने घोडा भएकाले त्यसका लागि पनि सहजता भएको छ ।
मुक्तिनाथ क्षेत्रमा हाल सञ्चालित घोडाहरु चलाउनेमा स्थानीय नगण्य मात्रामा हरेको उहाँको भनाइ छ । हाल म्याग्दी, रुकुम, बागलुङ, डोल्पा, रोल्पा, धादिङलगायतका जिल्लाबाट युवाहरु आएर घोडा सञ्चालन गर्ने पेशा अङ्गालेका छन् । जेजति भए पनि हाल मुक्तिनाथ क्षेत्रमा सञ्चालित घोडाले खाडीको चर्को घाममा गएर काम गर्न पर्ने बाध्यात्मक अवस्थाबाट केही युवालाई भए पनि मुक्त गरेको उहाँको भनाइ छ ।
कास्की बिरेठाँटीका ४२ वर्षिय बिरबहादुर बिक मुक्तिनाथ क्षेत्रमा बसेर काम गर्न थालेको २२ वर्ष बितिसक्यो । अहिले उहाँले घोडा चलाउन थालेको पनि १० वर्ष भयो । साहुको घोडा चलाउने उहाँको मासिक तलब २५ हजार रुपियाँ छ । धार्मिक पर्यटकको सेवा गर्न पाइने र उहाँहरुले मन्दिर पुग्न कठिन भएको समयमा आफू सहयोगी बन्न पाउँदा खुशी लाग्ने उहाँको भनाइ छ ।
दुई छोरी र एक छोरा अनि श्रीमतीका साथमा बाबाआमा पनि बिरेठाँटी घरमा रहेको बताउने उहाँले मुक्तिनाथको पुराङ, झारकोट, रानीपौवा क्षेत्रमा २२ वर्ष बिताएको सुनाउनुभयो । मुक्तिनाथ क्षेत्रमा घोडाले यात्रुलाई बोक्ने व्यवसाय गरेको भए पनि त्यो एक प्रकारको सेवा पनि भएको बारागुङ मुक्तीक्षेत्र गाउँपालिका –१ मुक्तिनाथका वडा अध्यक्ष तथा गाउँपालिका प्रवक्ता प्रमेश गुरुङले बताउनुभयो ।
मुक्तिनाथ स्थीत होटल अन्नपुर्ण इनका सञ्चालक रविन सुवेदीले मुक्तिनाथ दर्शनका लागि आउने अशक्त तीर्थयात्रीको सुविधाका लागि सञ्चालन गरिएका घोडाहरुले युवालाई रोजगारी समेत सिर्जना गरेको बताउनुभयो । उहाँका अनुसार मुक्तिनाथ मन्दिरमा दर्शन तथा पूजा अर्चनाका लागि आउने अधिकांशको चाहना मन्दिरसम्मै पुगेर दर्शन गर्नु नै हुनेभएकाले अशक्तलाई मन्दिरसम्म पुग्नका लागि घोडा अत्यन्तै उपयोगी भएका छन् ।
बारागुङ मुक्तीक्षेत्र गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत देवेन्द्र पाण्डेयका अनुसार हाल मुक्तिनाथ क्षेत्रमा पर्यटकको सहजताका लागि एकसय ३० वटा घोडाहरु परिचालित छन् । घोडाहरु सञ्चालन हुँदा अशक्तहरुका लागि सहज भएता पनि बसपार्कदेखि सिधै मुक्तिनाथ मन्दिर पुग्ने हुँदा वसपार्कदेखि मन्दिर बिचमा रहेका स्थानीय कला संस्कृतिको दृष्यावलोकन गर्नबाट तीर्थयात्री चुकेको उहाँले बताउनुभयो ।
मुक्तीनाथ क्षेत्रमा पार्कीङलगायतको शुल्क गाउँपालिकाले उठाउने गरेको भए पनि त्यहाँको आम्दानी व्यवस्थित गर्नुका साथै पर्यटकका लागि सुविधा बढाउनेतर्फ गाउँपालिकाको ध्यान जानु पर्ने काठमाडौंबाट मुक्तीनाथ दर्शनका लागि आउनु भएका सागर लुइटेलले बताउनुभयो ।