• १० मंसिर २०८१, सोमबार

चरम निराशालाई कम गर्न ठुला दुई दल एक ठाउँमा : उपमहासचिव ज्ञवाली

blog

रेसुङ्गा नगर कमिटीको दोस्रो नगर अधिवेशनलाई सम्बोधन गर्नुहुँदै प्रदीप ज्ञवाली । तस्बिर : तिलाचन पाण्डे

तिलाचन पाण्डे
तम्घास, कात्तिक २२ गते । 
नेपाल कम्यनिष्ट पार्टी (एमाले) का उपमहासचिव प्रदीपकुमार ज्ञवालीले जनतामा छाएको चरम निराशालाई कम गर्नका लागि देशका ठुला दुई दल एक ठाउँमा भएको बताउनुभएको छ ।

पछिल्लो समयमा एक वर्ष पनि नटिक्ने गरी सरकार गठनका कामहरू हुँदा जनतामा चरम निराशा छाएकाले त्यसलाई चिर्न र राजनीतिक स्थायित्व कायम गर्नका लागि दुई ठुला दल मिलेर सरकार गठन गरेको बताउनुभयो । 

नेकपा एमाले रेसुङ्गा नगर कमिटीको दोस्रो अधिवेशनलाई सम्बोधन गर्दै उहाँले देशलाई राजनीतिक रूपमा निकास दिनका लागि एमाले र काँग्रेस मिलेको दाबी गर्नुभयो ।

देशका दुई ठुला दल मिलेर सरकार बनाउँदा जनतामा खुसीयाली छाएको भन्दै उहाँले अब विकासले पनि गति लिने बताउनुभयो । एमाले कुर्सी वा भुईँ जहाँ भए पनि जनताको सेवामा सदैव साथमा रहने गरेको उहाँको भनाइ छ ।

सोही कार्यक्रममा एमालेका सचिव गोकर्णराज विष्टले माओवादीले हातमा एक्का र हुकुम लिएर हिँड्दा राजनीतिक स्थायित्व नभएको बताउनुभयो । कहिले एमाले र कहिले कांग्रेससँग मिलेर दोहोरो चरित्र देखाएका कारण देशमा राजनीतिक स्थायित्व हुन नसकेकाले देशका ठुला दल एक ठाउँमा आएको उहाँको भनाइ छ । देशमा राजनीतिक स्थायित्व कायम भएकाले विकास पनि बिस्तारै हुँदै जाने र जनतामा छाएको चरम निराशा पनि कम हुँदै जाने उहाँको दाबी छ । अधिवेशनले आगामी दुई वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ ।