• १२ पुस २०८१, शुक्रबार

ग्यासको प्रयोग बढ्दै, वन जोगिँदै

blog

प्रेमराज सिम्खडा

कालीकोट, कात्तिक २२ गते । सडकको विस्तारसँगै गाउँमा खाना पकाउने ग्यासको प्रयोग बढेको छ । ग्रामीण क्षेत्रमा खाना पकाउने ग्यासको प्रयोग बढेपछि वनजङ्गलमा आश्रित हुने प्रवृत्ति बिस्तारै घट्दै गएको छ । 

प्रायः दाउरा बालेर खाना पकाउने ग्रामीण क्षेत्रका बासिन्दामध्ये ६० देखि ६५ प्रतिशतको घरमा अहिले ग्यासको प्रयोग भइरहेको छ । ग्यासको प्रयोग बढेपछि वन फँडानीमा कमी आएको वन हेरालुको भनाइ छ । रास्कोट नगरपालिका वडा नं. १, २, ३ र ५ को साझा वन हेर्दै आएका रास्कोट–३ का नरहरिनाथ योगीले पाँच वर्षयता वनबाट दाउरा ल्याउनेको सङ्ख्यामा कमी आएको बताउनुभयो । 

उहाँले भन्नुभयो, “मैले वन हेर्न थालेको २२ वर्ष हुँदै छ । प्रायः वन फँडानी गरेर लुकीछिपी काँचा दाउरा ल्याउने चलन पाँच वर्षमा क्रमशः कमी हुँदै आएको छ ।” गाउँमा सडक पुगेपछि ग्यास सिलिन्डर किन्ने र दाउरामा खाना पकाउने चलनमा कमी आउँदा वन संरक्षण हुन थालेको बताउनुभयो । उहाँसँगै अर्का वन हेरालु रास्कोट–२ का धनकृष्ण सिम्खडाले २०७६ सालयता रास्कोट क्षेत्रको वन बाक्लिँदै गएको बताउनुभयो । चार जना वन हेरालु हुँदा पनि लुकीछिपी वन फँडानी बढ्दा वन नाङ्गो हुँदै गएपछि २०७३ सालमा रास्कोटमा मोटरबाटो पुगेसँगै खाना पकाउन ग्यास पुगेपछि दाउरामा खाना पकाउने चलनमा कमी आएको उहाँले जनाउनुभयो । 

रास्कोट–२ का हंशराज सज्यालले ग्यासको प्रयोगले सबैतिर फाइदा हुने गरेको बताउनुभयो । एकातिर धुवाँ हुँदैन, अर्कोतिर खाना पकाउन पनि छिटो हुने र दुःख कम हुने भएकाले प्रायः घरमा ग्यासको प्रयोग भइरहेको छ । दाउरा पनि विगतको जस्तो नपाउने अनुभव सुनाउँदै उहाँले ग्यासले धेरै सहज बनाएको उल्लेख गर्नुभयो । 

गाउँमा ग्यासको प्रतिसिलिन्डर दुई हजार पाँच सय रुपियाँ पर्ने गरेको छ । चारदेखि छ जनासम्मको घरपरिवारलाई उक्त सिलिन्डर दुई महिनासम्म खपत हुन्छ । यसरी हिसाब गर्दा दाउरामा खाना पकाउने हो भने महिनामा चार भारी दाउरा खर्च हुन्छ । एक भारी दाउरा ल्याउन एक दिनभरिको समय लाग्छ । त्यो भनेको एक दिनको मजदुरी गरेपछि दक्षले एक हजार र अदक्षले आठ सय रुपियाँ ज्याला पाउँछन् । अदक्षको ज्याला मात्र हिसाब गर्ने हो भने महिनामा तीन हजार दुई सय रुपियाँ पर्न आउँछ । ग्यासको मूल्य दुई हजार पाँच सय रुपियाँ छ । ग्यासमा केही रकम पनि बचत हुने भएकाले दाउराको कमीले वनजङ्गल पनि जोगिएको उहाँको भनाइ छ । रास्कोट नगरपालिकाका उपप्रमुख मनिराज बरालले प्रायः सबै गाउँमा ग्यासको प्रयोग भइरहेको बताउनुभयो । सजिलो, सस्तो र स्वास्थ्यका लागि पनि राम्रोका साथै धुवाँ नहुने भएकाले ग्यास प्रयोग गर्ने बढिरहेको उहाँले बताउनुभयो । 

ग्यासको प्रयोग सदरमुकाम मान्मसँगै रास्कोट नगरपालिका, तिलागुफा नगरपालिका, पलाँता गाउँपालिका, पचालझरना गाउँपालिका, नरहरिनाथ गाउँपालिका, शुभकालिका गाउँपालिकाका ससाना बजार क्षेत्रमा भइरहेको छ । छिटफुट रूपमा महावै गाउँपालिकामा पनि ग्यासको प्रयोग हुने गरेको छ । स्वास्थ्यकर्मी गोरखबहादुर शाहीले सुरुमा केही कर्मचारीका घरमा प्रयोग गर्न थालिएको ग्यास अहिले गाउँबस्तीमा पनि विस्तार भइरहेको बताउनुभयो । उहाँले दाउराको कमीले स्वास्थ्यमा पनि सुधार आउने उल्लेख गर्नुभयो ।