• १० मंसिर २०८१, सोमबार

छठको रौनक

सिँगारिए पोखरी र नदी किनार

blog

छठका लागि रङ्गीचङ्गी बनाइएको सिद्धार्थनगर–५ मा रहेको छठ पोखरी । तस्बिर : लक्ष्मण पौडेल

भैरहवा समाचारदाता 

भैरहवा, कात्तिक २२ गते । लोकआस्थाको महापर्व छठको दोस्रो दिन रुपन्देहीका जलाशय र नदी किनार बेहुली झैँ सिँगारिएको छ । बुधबार बिहानैदेखि छठ पूजाका लागि तलाउ र नदी किनार सजाउने काम भइरहेको छ । परम्परादेखि छठपूजा हुँदै आएका घाटमा रौनक देखिएको छ ।

रुपन्देही सदरमुकाम भैरहवास्थित सिद्धार्थनगर–५ मा रहेको छठ पोखरी रङ्गीचङ्गी बनाइएको छ । त्यस्तै तिनाउ, दानव र रोहिणीका विभिन्न स्थानमा छठ घाटलाई सिँगारिएको छ । गाउँ गाउँमा रहेका तलाउ किनारलाई सिँगारेर पूजाका लागि तयार गरिएको छ । रुपन्देही र आसपासका जिल्ला अहिले छठमय बनेका छन् । सर्वसाधारण पूजाको तयारीमा छन् । ५० वर्ष पहिलेदेखि नेपाली सेनाको काली भक्ति गणमा अवस्थित छठमाई पोखरीमा र भैरहवा उद्योगपुरी हनुमान मन्दिरस्थित पोखरीमा समेत केही वर्षदेखि छठको पूजा गरिँदै आएको छ ।

छठ अन्तर्गत बुधबार व्रतालु ‘खरना’ विधिपूर्वक पूजा गरेर मनाएका छन् । पर्वको पहिलो दिन कात्तिक शुक्ल चौथीका दिन मङ्गलबार ‘नहाय–खाय’ सम्पन्न गरेका व्रतालु बुधबार कात्तिक शुक्ल पञ्चमी तिथिका दिन ‘खरना’ को पूजा गरेका हुन् । बुधबार बिहान पवित्र स्नान गरी दिनभरि निराहार उपवास (व्रत) बसेर राति सखरमा पकाइएको खिर कुल देवता र छठीदेवीलाई चढाई व्रतालुले त्यही खिर खाने छन् । यो विधिलाई ‘खरना’ भनिन्छ । श्रद्धा, निष्ठा, समर्पणभाव र आत्मशुद्धिलाई निकै ख्याल गरिने छठ पर्वको ‘खरना’ का दिन दिनभरि उपवास बसेर बेलुका चन्द्र दर्शन गरिसकेपछि माटोको नयाँ चुलो र माटाकै भाँडामा सखर, दुध र मङ्सिरमा पाक्ने स्थानीय जातको धानको चामल मिलाई पकाइएको खिर केराको पातमा राखेर छठी मातालाई चढाएर व्रतालु र परिवारका अन्य सदस्यले प्रसादका रूपमा खाने गर्छन् । बुधबार दिनभरि उपवास गर्ने व्रतालुले सूर्यास्तपछि चन्द्र दर्शन गरेर यो विधि सम्पन्न गर्छन् । 

पर्वको तेस्रो दिन बिहीबार अर्थात् कात्तिक शुक्ल षष्ठी तिथिमा सूर्य उपासनाको निराहार व्रत बसेर साँझपख व्रतालुले जलाशयमा बनेको मनोरम घाटमा पुगेर कम्मरसम्म डुब्ने पानीमा चोबलिएर अस्ताउँदो सूर्यलाई पहिलो अर्घ दिन्छन् । यसलाई मिथिलामा ‘सझुका अरख’ वा ‘सझियाघाट’ भन्ने गरिएको छ ।