काठमाडौँ, कात्तिक २२ गते । अभिनेता उत्तम प्रधान दशकपछि चलचित्र क्षेत्रमा पुनरागमन गर्ने तयारीमा हुनुहुन्छ । रेड बर्ड प्रोडक्सन र कस्तुरी प्रोडक्सनले निर्माण गर्ने चलचित्र ‘कल्ली’ मा उहाँ अनुबन्धित भएसँगै उहाँको पुनरागमन पक्का भएको हो । असोज पहिलो साता काठमाडौँ आउनुभएका प्रधानले आफ्नो ‘दर्पणछाया’ को–स्टार निरुता सिंहसँग एक म्युजिक भिडियोमा अभिनय गर्नुभएको थियो ।
चलचित्र ‘दर्पणछाया’ पछि प्रधान यसको दोस्रो शृङ्खलामा ‘क्यामियो’ भूमिकामा देखिनुभएको थियो । ‘कल्ली’ का लागि यसका निर्माता किरण नेपाली र निर्देशक लक्ष्मण सुनारले सिक्किम पुगेर प्रधानलाई अनुबन्धित गर्नुभएको थियो । नयाँ वर्षको पूर्वसन्ध्यामा चलचित्रको प्रदर्शन गर्ने लक्ष्य निर्माण पक्षले लिएको छ । ‘कल्ली’ मा यसअघि सौगात मल्ल, अर्पण थापा, बुद्धि तामाङ, कमलमणि नेपाल र बेनिशा हमाल अनुबन्धित भइसक्नुभएको छ ।