• ९ मंसिर २०८१, आइतबार

अमेरिकी राष्ट्रपतिमा दोस्रो कार्यकालका लागि जित्दै ट्रम्प

blog

अमेरिकी राष्ट्रपतिमा नवनिर्वाचित उम्मेदवार डोनाल्ड ट्रम्प । तस्बिर : यूएस प्रेस

गोरखापत्र अनलाइन

काठमाडौं, कात्तिक २१ गते । अमेरिकामा राष्ट्रपति पदका लागि भएको निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ । राष्ट्रपतिमा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प जित निकट पुग्नुभएको छ ।

राष्ट्रपति पदका अर्का प्रत्याशी डेमोक्रेटिक पार्टीकी कमला ह्यारिसले ट्रम्पलाई कडा चुनौती दिनुभएको छ । ट्रम्प यसअघि एक-पटक राष्ट्रपति पदमा चुनाव जितिसकेका र एक-पटक हारेक उम्मेदवार हुनुहुन्छ । 

यो समाचार तयार पार्दासम्म ट्रम्पले २६७ इलेक्टोरल मत जित्नुभएको छ । उहाँको प्रतिस्पर्धी ह्यारिसले २२४ इलेक्टोरल मत प्राप्त गर्नुभएको छ । धेरै राज्यहरूमा रिपब्लिकन पार्टीका उम्मेदवार र पूर्व राष्ट्रपति ट्रम्प विजयी भएपछि उहाँको जित सन्निकट भएको हो । अमेरिकी मतदाताले चुनावमा मतदान गरेर प्रत्यक्ष रूपमा राष्ट्रपति चयन गर्दैनन् । त्यसैले अमेरिकामा चुनावी नतिजा स्पष्ट हुन केही समय लाग्नेगर्छ ।

सन् २०१६ मा पहिलो कार्यकाल राष्ट्रपति बन्नुभएका ट्रम्प सन् २०२० मा डेमोक्रेटिकका उम्मेदवार जो बाइडनसँग पराजित हुनुभएको थियो । अहिले तेस्रो पटक चुनावी प्रतिस्पर्धामा रहनुभएका ट्रम्पलाई पुनः अमेरिकी राष्ट्रपतिको जिम्मेवारी काँधमा आउने करिब सुनिश्चित भएको छ । 

अमेरिकी उच्च सदन (सिनेट) मा रिपब्लिकन पार्टीले बहुमत ल्याइसकेको छ । पार्टीले चार वर्षपछि सिनेटमा आफ्नो सङ्ख्या बहुमतभन्दा माथि पुगाएको अमेरिकन मिडियाले समाचार प्रकाशन गरेका छन् । सदनमा रिपब्लिकन पार्टीको ५१ र डेमोक्रेट पार्टीको ४९ सांसद कायम रहने देखिएको छ । जित सुनिश्चित भएसँगै ट्रम्पले मतदातालाई सम्बोधन गर्ने तयारी गर्नुभएको छ । 

ह्यारिसको सम्बोधन नहुने

राष्ट्रपति पदकी उम्मेदवार कमला ह्यारिसले बुधबार सम्बोधन गर्ने तयारी गर्नुभएको थियो । तर निर्वाचनको परिणाम कमजोर आएपछि उहाँले अन्तिम समयमा आएर मतदातालाई सम्बोधन गर्ने भनिएको कार्यक्रम स्थगित भएको बताइएको छ । 

ह्यारिसले सम्बोधन गर्ने खबर पाएपछि ठुलो सङ्ख्यामा उहाँका समर्थकहरू कार्यालय बाहिर जम्मा हुन थालेका थिए । तर उहाँ निकट एक वरिष्ठ सदस्यले आजका लागि निर्धारित सम्बोधन कार्यक्रम रद्द भएको बताएका छन् । कार्यक्रम रद्द भएपछि सम्बोधनका लागि ह्यारिस कार्यालय नआउने बिबिसीले जनाएको छ । राष्ट्रपतिका लागि सम्पन्न निर्वाचनको मतगणना अझै जारी छ । 

यो पनि पढ्नुहोस

अमेरिकी राष्ट्रपतिमा दोस्रो कार्यकालका लागि जित्दै ट्रम्प