• १२ पुस २०८१, शुक्रबार

बिपी राजमार्गको पात्लेखेतमा एकतर्फी सवारी सञ्चालन

blog

सोमबार दिउँसो पानीसँगै आएको लेदोका कारण सवारी आवागमनमा समस्या भएको धुलिखेल नगरपालिका–११ पात्लेखेत । तस्विर सौजन्यः पुजन धिताल

केदार तिमल्सिना 

बनेपा, कात्तिक १९ गते । सोमबार दिउँसो परेको वर्षाका कारण बिपी राजमार्गको केही स्थानमा रहेका साना खोल्सीहरुमा आएको लेदोका कारण सवारी आवागमनमा असर परेको छ । 

बिपी राजमार्ग अन्तर्गत धुलिखेल नगरपालिका –११ हनुमान मावि नजिकैको खोल्सामा आएको लेदो र पानीका कारण राजमार्गमा एकतर्फी रुपमा सवारी सञ्चालन भएको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार सोमबार दिउँसो वर्षासँगै आएको लेदोको कारण पात्लेखेत नजिकै रहेको खोल्सामा केहीबेर सवारी आवागमनमा समस्या भए पनि अहिले भने एकतर्फी रुपमा सवारी सञ्चालन भएको छ । 

सोमबार परेको पानीले असोज १०–१२ गतेसम्म परेको अविरल वर्षाका कारण बिपी राजमार्गका विभिन्न स्थानमा आएको पहिरो भएको स्थानमा हिलोका कारण सवारी आवागमनमा केही समस्या रहेको प्रहरीले जनाएको छ । 


असोज दोस्रो साता परेको अविरल वर्षाका कारण रोसी खोलामा आएको बाढी तथा पहिरोका कारण बिपी राजमार्गको विभिन्न स्थानमा पहिरो जानुको साथै आठ किलोमिटर सडक क्षति भएको थियो । 

यसैबिच पानीका कारण रोसी खोलामा आएको बाढीले असोज दोस्रो साताको वर्षाका कारण नमोबुद्ध नगरपालिका–६ र रोसी गाउँपालिका–७ जोड्ने रोसी खोलामा गरिएको डाइभर्सन र ह्युमपाइपमा क्षति गरेपछि जिल्लाको महाभारत गाउँपालिकाबाट तिहार मानेर फर्किएका सवारी साधन र यात्रुहरु अलपत्र परेका थिए ।