• १२ पुस २०८१, शुक्रबार

पर्यटकीय स्थलमा क्याबिनेट बैठक राख्छौं : मुख्यमन्त्री आचार्य

blog

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य ।

गणेश खनाल

अर्घाखाँची, कात्तिक १९ गते । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशभित्रका प्रमुख पर्यटकीय स्थलहरुको प्रवर्धन गर्नेगरी विभिन्न स्थानमा  मन्त्री परिषद्को बैठक राख्ने योजना रहेको बताउनुभएको छ ।  सोमवार लुम्बिनी केवलकारको अवलोकन गर्दै मुख्यमन्त्री आचार्यले मन्त्रीपरिषद् बैठकहरु प्रदेशका धार्मिक तथा पर्यटकीय स्थलमा राख्नेगरी सरकारले योजना बनाएको बताउनुभयो । 

 ‘पर्यटन प्रवर्धनलाई प्राथमिकतामा राखेर लुम्बिनी केबलकारको वसन्तपुर, पाल्पाको रानीमहल, प्युठानको स्वर्गद्वारीलगायतका महत्त्वपूर्ण स्थलहरुमा घुम्ती रुपमा मन्त्रीपरिषद्को बैठकहरु राख्ने योजनामा छौंं’ मुख्यमन्त्री आचार्यले भन्नुभयो, ‘यस प्रकारको बैठकले पर्यटन क्षेत्रमा सबैको ध्यान केन्द्रित हुनेछ ।’

प्रदेशको समृद्धिको मुख्य आधार पर्यटन, कृषि र उद्योग भएको उल्लेख गर्दै मुख्यमन्त्री आचार्यले रुपन्देही, कपिलवस्तु र नवलपरासीलाई बुद्ध सर्किट र १२ वटै जिल्लालाई समेटेर लुम्बिनी सर्किटका रुपमा विकास गर्ने योजनामा रहेको मुख्यमन्त्री आचार्यले बताउनुभयो । 

निजी लगानीमा बुटवलमा बनेका लुम्बिनी र सिद्धार्थ केबलकारको दिगो सञ्चालनका लागि भारतीय पर्यटक भित्र्याउन आवश्यक रहेकोमा मुख्यमन्त्री आचार्यले जोड दिनुभयो । भारतीय पर्यटक भित्र्याउन प्रदेश सरकारले भारतको उत्तर प्रदेश र बिहार प्रदेश सरकारसँग समन्वय गरेर विशेष योजना बनाइरहेको मुख्यमन्त्री आचार्यले जानकारी गराउनुभयो । 

प्रदेशको समृद्धिमा निजी क्षेत्रको महत्वपूर्ण भूमिका हुने उल्लेख गर्दै मुख्यमन्त्री आचार्यले निजी क्षेत्रसँग हातेमालो गर्न सरकार सधैं तत्पर रहेको बताउनुभयो ।

केवलकार अवलोकनसँगै मुख्यमन्त्री आचार्यले वसन्तपुरमा रहेको प्रख्यात शक्तिपीठ कामाख्यादेवी मन्दिरकाे दर्शन गर्नुभएको थियो ।

सो अवसरमा केबलकारका प्रबन्धक प्रज्ज्वल घिमिरेले सञ्चालनमा आएको १७ महिनामा ३ लाख पर्यटक भित्रिएका जानकारी गराउँदै  भारतीय पर्यटकलाई सहज रुपमा नेपाल आउने वातावरण सरकारले बनाउनुपर्ने माग राख्नुभयो । भारतीय पर्यटकलाई सम्मानजनक व्यवहार, सडकमा अनावश्यक चेकजाँच नगर्न र चाहेजति रकम बोक्न र खर्च गर्न पाउने नीतिगत व्यवस्था गर्न घिमिरेले आग्रह गर्नुभयो ।

२०८० जेठ १५ देखि व्यावसायिक रूपमा सञ्चालनमा आएको लुम्बिनी केबलकारमा १७ महिनामा आन्तरिक र बाह्य गरी ३ लाख १५ हजार ९१६ जना पर्यटक लुम्बिनी केबलकार चढेर वसन्तपुर पुगेका जानकारी गराउनुभयो ।

अस्ट्रियाको विश्व विख्यात डुपलमायर कम्पनीबाट बनेको लुम्बिनी केबलकार २ किलोमिटर ६ सय मिटर लामो छ । २५ वटा गोन्डला रहेको केबलकारले दैनिक ६ हजार पर्यटक आवतजावत गराउन सक्छ । विश्वका विभिन्न देशमा सय वर्षदेखि १५ हजार बढी सङ्ख्यामा सञ्चालनमा रहेको यो केबलकारको प्रविधि विश्वमै अत्याधुनिक र सुरक्षित रहेको अपरेसन म्यानेजर डीएन कायस्थ सैंजूले  बताउनुभयो ।

केबलकार सञ्चालनमा आएपछि प्रदेश सरकारको पर्यटन विकास परिषद्ले वसन्तपुरलाई प्रमुख पर्यटकीय थलोको सूचीमा सूचीकृत गरेको छ । कामाख्या देवीको दर्शनले मनोकामना पूरा हुने धार्मिक विश्वासका कारण नेपाल र भारतका विभिन्न सहरबाट भक्तजनहरू उल्लेख्य सङ्ख्यामा आउने गरेको मन्दिरका मूल पुजारी सुरेश पौडेलले बताउनुभयो ।

वसन्तपुरमा दुई वर्षभित्र साढे तीन अर्ब लगानीमा एकसय ५० कोठा, एक हजार जना क्षमताको बैंक्वेट हल र क्यासिनोसहित पाँचतारे होटेल बनाउने प्रक्रियासमेत अघि बढेको छ ।