• १० मंसिर २०८१, सोमबार

चिडिमार समुदायको पुर्खौली पेसा सङ्कटमा

blog

चिन्तामा परेका चिडिमार समुदायका अगुवाहरु । तस्बिर : सिराज खान

सिराज खान 

नेपालगन्ज, कात्तिक १९ गते । समयसँगै आएको परिवर्तनले बाँकेको कोहलपुर नगरपालिका–१४, हवल्दारपुरस्थित चिडिमार समुदायको पुर्खौली पेसा संकटमा पर्दै गएको छ ।  

केही वर्ष पहिले सरकारले चराचुरुङ्गी र वन्यजन्तुको शिकारमाथि प्रतिबन्ध लगाएसँगै चिडिमारको परम्परागत पेशा संकटमा परेको हो । चिडिमार समुदायले पुस्तौँदेखि चराहरूको शिकार गरेर जीविका चलाउँदै आएका छन् । तर वातावरणीय नियम, वन्यजन्तु संरक्षण नीति र चरा मार्ने परम्परामा आएको परिवर्तनले उनीहरूको जीवनयापन जटिल बन्दैगएको छ । 

हवल्दारपुरका ५० वर्षीय रामप्रसाद चिडिमारले समुदायका लागि चरा मार्ने पेसा केवल जीविकाको साधन मात्र नभइ आफुहरुको सांस्कृतिक पहिचान पनि भएकाले यसलाई जोगाइराख्न अपरिहार्य भएको बताउनुभयो । 

उहाँले हरेक परिवारले विगतमा शिकार गरेर आफ्नो जीवन निर्वाह गर्ने गरेकोमा समय परिवर्तनसँगै यो पेशा पनि संकटमा पर्न थालेको जनाउँदै पुर्खौली पेशा संकटमा परेकाले अति नै चिन्तित बनाएको बताउनुभयो । 

यस्तै, अर्का जीवन चिडिमारले चरा मार्न नपाएपछि कसरी गुजारा चलाउने ? भन्ने प्रश्न गर्दै राजा र राणाका पालामा बाउबाजेलाई चरा मार्न शिकार खेल्न दिने गरिएकोमा अहिले त्यो रोक्दा समुदायमा समस्या अति नै बढेको बताउनुभयो । 

उहाँले चिडिमार समुदायको शिकारको साधनमा परिवर्तन र कानुनी प्रतिबन्धले चिडिमारहरूको मुख्य पेशा धराशायी भएको जनाउँदै पहिलेजस्तो चरा मार्न पाउनुपर्ने माग गर्नुभयो । 

चिडिमारहरूको पुर्खौली पेशामा संकटको अर्को कारण भनेको जैविक विविधता र पर्यावरणीय असन्तुलन पनि भएको समुदायका अगुवाहरु बताउँछन् । कोहलपुरकै अर्का चिडिमार राजेश चिडिमारले धेरै क्षेत्रहरूमा चरा मार्न नपाउने गरी वन्यजन्तु संरक्षणको प्रयास भइरहेकाले चिडिमार समुदायलाई आर्थिक रूपमा ठूलो असर गरेको बताउनुभयो । 

उहाँका अनुसार चरा मार्न नपाउँदा चिडिमार समुदायले आफ्नो परम्परागत सीप गुमाउँदै गएका छन् । यो समुदायलाई अन्य रोजगारीका अवसरहरू भने उपलब्ध छैनन् । अशिक्षा र गरिबीका कारण वैकल्पिक पेशा अपनाउन उनीहरू असमर्थ छन् । पेशा मात्र नभइ चिडिमारहरूको पारिवारिक जीवन पनि संकटमा छ । 

शिकार गर्न नपाउँदा आम्दानीको स्रोत घटेको छ, जसका कारण उनीहरूको आर्थिक अवस्था दिनानुदिन कमजोर बन्दै गएको छ । चिडिमार समुदायले अन्य पेसामा लाग्न चाहे पनि तिनको लागि आवश्यक सीप, तालिम, र स्रोतको अभाव रहेको छ ।