• २३ पुस २०८१, मङ्गलबार

गुल्मीमा १३ वटा अतिरिक्त हुलाक कार्यालय खारेज

blog

जिल्ला हुलाक कार्यालय गुल्मी । तस्बिर : रमेश विश्वकर्मा

रमेश विश्वकर्मा
गुल्मी, कात्तिक १५ गते ।
 गुल्मीमा १३ वटा अतिरिक्त हुलाक कार्यालय खारेज भएका छन् । जिल्ला हुलाक कार्यालय गुल्मीको मातहतमा रहेका ६१ वटा अतिरिक्त हुलाक कार्यालयमध्ये १३ वटा खारेज भएका हुन् ।

नेपाल सरकारले अतिरिक्त हुलाक (पाँचौँ संशोधन) नियमावली २०८० कार्यान्वयनमा ल्याएसँगै सो सङ्ख्यामा यस जिल्लाका अतिरिक्त हुलाक कार्यालय खारेज गरिएको हुलाक अधिकृत खेत बहादुर खत्रीले जानकारी दिनुभयो ।

नेपाल सरकारले आर्थिक वर्ष २०८०/०८१ देखि हुलाकको पुनः संरचना गर्ने कार्य सुरु गरेसँगै एक पालिका एक हुलाक नीति कार्यान्वयन गर्ने क्रममा सबैभन्दा पहिले अतिरिक्त हुलाक खारेज गर्ने तयारी अगाडी बढाएको थियो । सोही अनुसार अतिरिक्त हुलाकमा कार्यरत तीन प्रकारका कर्मचारी हुलाक प्रतिनिधि, डाँकवाहक र पत्र वितरक ५८ वर्ष उमेर पूरा भएपछि अनिवार्य अवकाश हुँदै जाने र उक्त पद स्वतः खारेज हुने व्यवस्था रहेको उहाँले बताउनुभयो ।

यहाँ रहेका अतिरिक्त हुलाक कार्यालयमा कार्यरत १७९ जना कर्मचारीहरूमध्ये ८३ जना कर्मचारीहरू अनिवार्य अवकाश जानुभएको छ । अवकाश जानुभएका उहाँहरूलाई नेपाल सरकारले दिनुपर्ने सम्पूर्ण सेवा सुविधासहित बिदाइ गरिएको छ । नयाँ पदपूर्ति नहुने भएपछि बिस्तारै कार्यालयहरू पनि खारेज हुने हुँदा नेपाल सरकारको नीति अनुसार यहाँका १३ वटा अतिरिक्त हुलाक खारेज भएको हुलाक अधिकृत खत्रीले बताउनुभयो ।

यस जिल्लाका म्यालपोखरी, दरबार देविस्थान, जुभुङ्ग, मर्भुङ्ग, दर्लिङ्ग, पौँदी अमराई, खड्गकोट, जोहाङ्ग, हर्दिनेटा, हुँगा, ग्वादी, अर्लाङ्गकोट र अर्खले गरी १३ वटा अतिरिक्त हुलाक कार्यालय खारेज भएका हुन् । खारेज भएका अतिरिक्त हुलाक कार्यालयका जिन्सी सामान अर्थात् चल–अचल सम्पत्ति पनि जिल्ला हुलाक कार्यालय र पालिका हुलाक कार्यालयमा व्यवस्थापन गरिएको उहाँले बताउनुभयो ।

जिल्ला हुलाक कार्यालयको मातहतमा विभिन्न स्थानमा ११ वटा हुलाक कार्यालय र ४८ वटा अतिरिक्त हुलाक कार्यालय छन् । गत आव २०८०/०८१ मा यस जिल्लामा सबैभन्दा धेरै हुलाक वस्तुको आयात गरिएको छ । ५१ हजार ४१७ विभिन्न जिल्ला र विदेशबाट दुई हजार ३०३ हुलाक वस्तु आयात भएका छन् । विभिन्न जिल्लाको लागि आठ हजार ७८७ र विदेशका लागि ५१ हुलाक वस्तु निर्यात गर्न चलानी गरिएको हुलाक अधिकृत खत्रीले बताउनुभयो ।