• १५ कात्तिक २०८१, बिहिबार

तिहारमा फूलको झिलिमिली

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, कात्तिक १५ गते । तिहार सुरु भएसँगै सयपत्री र मखमली मालाले बजार सुसज्जित भएको छ । उपत्यकामा मालाको खपत धेरै हुने हुँदा तिहारलक्षित माला तथा फूल भित्रिएको छ । लक्ष्मीपूजा गर्न, घर सजाउन र भाइटीकाका लागि मालाको प्रयोग धेरै हुने गर्छ । बिहीबार लक्ष्मीपूजा परेकाले बुधबारदेखि नै सडक पेटीदेखि डिपार्टमेन्ट स्टोरसम्म माला राखिएका छन् । 

किसानले उपत्यकाका मुख्य मुख्य बजारमा विभिन्न जिल्लामा उत्पादन गरेका फूलमाला ल्याएर बेच्न थालेका हुन् । 

उपत्यका नजिकका जिल्लामा उत्पादित फूल बजारमा आउन थालेको फ्लोरिकल्चर एसोसिएन नेपाल (फ्यान) ले जनाएको छ । फ्यानका निवर्तमान अध्यक्ष मीनबहादुर तामाङका अनुसार छिमेकी मुलुक भारतबाट आयात हुने मालाको प्रतिबन्ध लगाएकाले यसपालि स्वदेशी फूलले उचित मूल्य पाउने उहाँले जानकारी दिनुभयो । 

यो वर्ष मालाको मूल्य गत वर्षकै हाराहारीमा रहेको उहाँको भनाइ छ । बजारमा सयपत्री माला एक सयदेखि १५० रुपियाँ र मखमली मालाको मूल्य ५० देखि ६० रुपियाँमा बिक्री हुने गरेको छ । यपपालि तिहारमा सयपत्री माला ४० लाख, चार लाख ७५ हजार मखमली र बाँकी गोदावरी मालाको खपत हुने अनुमान गरिएको उहाँले जानकारी दिनुभयो । तिहारमा सबैभन्दा धेरै सयपत्री मालाको खपत हुने गर्छ । वार्षिक रूपमा फूलको माग १० देखि १५ प्रतिशतले बढ्दै गए पनि स्वदेशी उत्पादनमा आत्मनिर्भर भएकाले आयात गर्नुपर्ने अवस्था नरहेको उहाँले जानकारी दिनुभयो । सरकारले गत वर्षदेखि फूलको आयातमा प्रतिबन्ध लगाएकाले फूलको आयात भएको छैन, गुरुङले भन्नुभयो, “लुकिछिपी आएको फूल नियन्त्रण गरिएकाले बजारमा स्वदेशी फूल मात्र भित्रिएको छ ।” 

काठमाडौँ, ललितपुर, भक्तपुर, धादिङ, नुवाकोट, सिन्धुली, काभ्रे, रामेछाप, ओखलढुङ्गालगायतका जिल्लाबाट उपत्यकामा फूल तथा माला भित्रिने गरेको छ । फ्लोरिकल्चर एसोसिएसन नेपालका अनुसार मुलुकभर ५२ जिल्लामा २६० हेक्टर क्षेत्रफलमा पुष्प व्यवसाय भइरहेको छ ।