• २४ पुस २०८१, बुधबार

कार्बन व्यापारबाट चार अर्ब पचहत्तर करोड

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, कात्तिक १४ गते । वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रले कार्बन व्यापारमार्फत हालसम्म चार अर्ब ७५ करोड रुपियाँ तीन करोड ५२ लाख ७० हजार अमेरिकी डलर आम्दानी गरेको जनाएको छ । 

केन्द्रले आफ्नो २८ औँ वार्षिकोत्सव समारोहमा सार्वजनिक विवरण अनुसार सन् २०११ देखि केन्द्रले सञ्चालन गर्दै आएका विभिन्न आठ कार्बन व्यापारका परियोजनामार्फत यस्तो आम्दानी गरेको हो । केन्द्रले यस शीर्षकमा गत आवमा मात्रै २८ लाख ७५ हजार अमेरिकी डलर आम्दानी गरेको छ ।

केन्द्रका प्रमुख कार्यकारी अधिकृत नवराज ढकालका अनुसार हालसम्म केन्द्रमार्फत ६० लाख मेट्रिक टन कार्बन बिक्री गरिएको छ । गत वर्ष यो परिमाण पाँच लाख ४२ हजार मेट्रिक टन कार्बन उत्सर्जन न्यूनीकरण रेकर्ड गरी यस्तो आम्दानी गरिएको हो ।

ढकालले काबर्न उत्सर्जन न्यूनीकरणका प्रयास र प्रभावकारिता बढ्दै गएकाले आगामी वर्षमा कार्बन व्यापारको रकम बढ्दै जाने उल्लेख गर्नुभयो । वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले केन्द्रले नेपालको विद्युतीकरणमा महत्वपूर्ण भूमिका खेल्दै आएको र परिवर्तित परिस्थिति अनुसार नयाँ सोचसहित काम गर्ने गरी केन्द्रका लागि नयाँ कानुन तर्जुमा भइरहेको जानकारी गराउनुभयो । 

केन्द्रका सदस्य कुशल गुरुङले नेपालको विद्युत् विकासका लागि सौर्य ऊर्जा परियोजनालाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औँल्याउनुभयो । 

ऊर्जा समिश्रणसम्बन्धी नीति अनुसार अहिले सौर्य ऊर्जा हिस्सा १० प्रतिशत पु¥याउने लक्ष्य रहेकामा ३० प्रतिशतसम्म पु¥याउन आवश्यक रहेको उहाँको भनाइ थियो । 

गुरुङले विद्युत्को राष्ट्रिय प्रसारणको पहुँच विस्तार हुँदै जाँदा करोडौँ लगानीका लघुजलविद्युत् आयोजना समस्यामा परेको र सरकारले त्यसलाई मर्मतसम्भार गरेर ससचारु गरी प्राधिकरणलाई बिजुली बेच्ने वातावरण बनाइदिनुपर्ने सुझाव दिनुभयो ।