• १५ कात्तिक २०८१, बिहिबार

नइलाई डा.उपाध्यायबाट २३ लाख प्रदान

blog

डा.कपिलदेव उपाध्याय

काठमाडौँ, कात्तिक १३ गते । नइ प्रकाशनको अक्षयकोषको अभिवृद्धिका लागि डा.कपिलदेव उपाध्यायबाट २३ लाख रुपियाँ प्रदान भएको छ । उहाँले सो रकम नइ प्रकाशनका कुलपति श्रीमती इन्दिरा प्रसाईँलाई हस्तान्तरण गर्नुभएको प्रकाशनका सदस्य सचिव नरेन्द्रराज प्रसाईँले जानकारी दिनुभयो ।

नइ प्रकाशनको रजत महोत्सवका अवसरमा डा. कपिलदेव उपाध्यायको संयोजनमा स्थापना गरिएको पचास हजार रुपियाँ राशिको ‘नइ कपिल शोध पुरस्कार’ राष्ट्रकवि डा.माधव घिमिरे, वाङ्मय शताब्दी पुरुष डा.सत्यमोहन जोशी, जनराष्ट्रकवि ईश्वर वल्लभ, महासमालोचक प्रा.डा.वासुदेव त्रिपाठी, नेपाली साहित्यका विश्वनारी रत्न डा.वानीरा गिरी र नइ प्रकाशनमध्ये कुनै एकको योगदानका विषयमा नेपाली भाषा साहित्यमा विद्यावारिधि गर्ने या नइ प्रकाशनबारे ग्रन्थ लेख्ने विशिष्ट शोधार्थीलाई समर्पण गरिनेछ ।

साथै नइ प्रकाशनले बाजुरा र हुम्ला जिल्लाका एक–एक जना जेहेनदार छात्रालाई हरेक वर्ष जनही तीस हजार रुपियाँ राशिसहित ‘नइ कपिल विद्यापदक’ प्रदान गर्दै आएको छ ।

नइ प्रकाशनको अक्षयकोषमा हाल दुई करोड ८० लाख रुपियाँ मौजुद रहेको छ । सो अक्षयकोषको व्याजबाट नइद्वारा जम्मा तीस वटा पुरस्कार प्रदान गरिने परिपाटि रहेको सदस्य सचिव प्रसाईँले बताउनुभयो ।