• १५ कात्तिक २०८१, बिहिबार

सशस्त्र प्रहरीलाई सीमाको ‘डेडिकेटेड फोर्स’ बनाइन्छ : गृहमन्त्री लेखक

blog

गृहमन्त्री रमेश लेखक मङ्गलबार सशस्त्र प्रहरी बल नेपालको निरीक्षक आधारभूत तालिमको दीक्षान्त समारोहलाई सम्बोधन गर्नुहुँदै । तस्बिर : प्रधानमन्त्रीको सचिवालय

काठमाडौँ, कात्तिक १३ गते । गृहमन्त्री रमेश लेखकले सशस्त्र प्रहरी बल नेपाललाई सीमाको ‘डेडिकेटेड फोर्स’ बनाइने बताउनुभएको छ । मङ्गलबार सशस्त्र प्रहरी बल नेपालको निरीक्षक आधारभूत तालिमको दीक्षान्त समारोहलाई सम्बोधन गर्नुहुँदै गृहमन्त्री लेखकले सशस्त्र प्रहरी बललाई सीमाको ‘डेडिकेटेड फोर्स’ बनाउन मन्त्रालय लागि परेको बताउनुभएको हो ।

उहाँले त्यसका लागि अन्तर्राष्ट्रिय मापदण्डसहितको थप बिओपीहरुको स्थापना गर्न लागिएको जानकारी दिनुभयो । गृहमन्त्री लेखकले हाल स्थापनारत बिओपीहरुको स्तर वृद्धि गर्दै समग्र सङ्गठनलाई प्रविधिमैत्री एवम् चलायमान बनाउनेतर्फ पनि मन्त्रालय प्रयासरत रहेको जानकारी गराउनुभयो ।

‘‘सशस्त्र प्रहरी बल, नेपाललाई सीमाको डेडिकेटेड फोर्स बनाउन मन्त्रालय लागि परेको छ । यसका लागि अन्तर्राष्ट्रिय मापदण्डसहितको थप बिओपीहरुको स्थापना, मौज्दुता बिओपीहरुको स्तर वृद्धि गर्दै समग्र सङ्गठनलाई प्रविधिमैत्री एवम् चलायमान बनाउनेतर्फ मन्त्रालय प्रयासरत रहेको छ ।,’’ उहाँले भन्नुभयो, ‘‘राष्ट्रिय सुरक्षाभित्र पर्ने सबै जिम्मेवारीहरू हाम्रा साझा जिम्मेवारीहरू हुन् । हाम्रो जिम्मेवारीबाट राज्यका हरेक नागरिकमा सुरक्षाको प्रत्याभूति भएमात्र हाम्रो अस्तित्व र परिचालनको अर्थ हुन्छ ।’’

उहाँले दीक्षित प्रहरीहरूलाई आफ्नो बौद्धिकता, योग्यता, क्षमता र इमान्दारीलाई सदैव सत्य र लोकहितको पक्षमा लगाएर काम गर्न आग्रह गर्नुभयो । उहाँले सशस्त्र प्रहरी बल नेपालको कानुन परिवर्तन गर्न लागिएको भन्दै यसले सशस्त्र प्रहरीलाई थप सबल, सक्षम र व्यावसायिक बनाउने विश्वास व्यक्त गर्नुभयो ।

गृहमन्त्री लेखकले भन्नुभयो, ‘‘आफ्नो बौद्धिकता, योग्यता, क्षमता र इमान्दारीलाई सदैव सत्य र लोकहितको पक्षमा लगाउनु होला । सदाचारयुक्त, योग्य, सकारात्मक सोच र मानसिकता भएको दक्ष र इमान्दार अधिकृतको रूपमा राष्ट्र सेवाको आगामी यात्रा सफल होस् भन्ने शुभकामना व्यक्त गर्न चाहन्छु । कानुन परिवर्तन गरेर नयाँ कानुन निर्माणको प्रक्रिया अगाडि बढाउन लागेको छौँ । यसले थप सबल, सक्षम र व्यावसायिक बनाउने छ यो कानुनले भन्ने विश्वास छ ।’’

उहाँले सशस्त्र प्रहरी बल नेपालको सेवालाई थप विशिष्टीकृत बनाइने भन्दै राष्ट्र सेवामा जोस र ऊर्जाका साथ लाग्न निर्देशन दिनुभयो ।