• १९ पुस २०८१, शुक्रबार

शैक्षिक एवम् पर्यापर्यटकीय गन्तव्य बन्दै उद्यान

blog

शैक्षिक भ्रमणमा आउनुभएका विद्यार्थीहरूलाई वनस्पति उद्यानका बारेमा जानकारी दिनुहुँदै कार्यालय प्रमुख पराजुली । तस्बिर : अनिल पराजुली

अनिल पराजुली

हेटौँडा, कात्तिक १३ गते । वन तथा वातावरण मन्त्रालयको वनस्पति विभाग अन्तर्गत रहेको वनस्पति अनुसन्धान केन्द्र, मकवानपुर अन्तर्गत रहेका वृन्दावन वनस्पति उद्यान, हेटौँडा र पर्वतीय वनस्पति उद्यान, दामन शैक्षिक एवम् पर्यापर्यटकीय गन्तव्य बन्दै गएको छ । 

चालु आर्थिक वर्ष २०८१–८२ को प्रथम त्रैमासिक अवधिको तथ्याङ्क अनुसार उद्यानहरूमा भ्रमण एवम् अवलोकनकर्ताको सङ्ख्यामा बढोत्तरी भएको हो । वर्षाको समय भएको कारण अवलोकनकर्ताहरूको सङ्ख्या तुलनात्मकरूपमा केही कमी भएतापनि मनसुन बाहिरिएसँगै उद्यानहरूमा अवलोकनकर्ताहरूको सङ्ख्या बढ्दै गएको केन्द्रका कार्यालय प्रमुख एवं वरिष्ठ वैज्ञानिक अधिकृत रघुराम पराजुलीले जानकारी दिनुभयो । 

विशेषगरी विभिन्न जिल्लाबाट साइन्स, फार्मेसी, फरेस्ट्री लगायतका विषय पढ्ने विद्यार्थीहरू र मनोरञ्जनका लागि आउनेको उद्यान आकर्षणको केन्द्र बन्दै गएको हो । तीन महिनाको अवधिमा आन्तरिक आगन्तुक दुई हजार ५६३ जनाले उद्यानको अवलोकन भ्रमण गर्नुभएको छ भने एक हजार ३६२ जना सेवाग्राही उद्यानबाट लाभान्वित हुनुभएको छ । शैक्षिक र मनोरञ्जन केन्द्रको रूपमा विकसित हुँदै गएको उद्यानमा देशभरका क्याम्पस तथा विद्यालयका विद्यार्थीहरूले वनस्पतिका प्रजाति, महत्त्व, विकास लगायतका विषयमा अवलोकन भ्रमण गर्नुभएको हो ।

वृन्दावन वनस्पति उद्यान, हेटौँडा र पर्वतीय वनस्पति उद्यान, दामनमा टिकेटिङ व्यवस्थापनबाट साउन, भदौ र असोजमा ९२ हजार ८९० राजस्व सङ्कलन भएको छ । पर्वतीय वनस्पति उद्यान, दामनमा ६ हजार १८५ र वृन्दावन वनस्पति उद्यान, हेटौँडामा ८६ हजार ७०५ रुपैयाँ राजस्व सङ्कलन भएको हो । वन नियमावली २०७९ को अनुसूची २ बमोजिम शुल्क तोकिएको छ । शैक्षिक अध्ययन र भ्रमणमा आउने विद्यार्थीबाट प्रतिव्यक्ति दस रुपियाँ शुल्क लिने गरिएको छ । 

त्यस्तै १० वर्षमूनिकालाई १५ रुपियाँ र १० वर्षमाथिका २५ रुपियाँ भ्रमण शुल्क निर्धारण गरिएको हो । चलचित्र, म्युजिक भिडियो र विवाहको फोटो सुटका लागि पाँचसय रुपियाँ शुल्क तोकिएको छ । यहाँ विद्यार्थी सहित पारिवारिक भ्रमण, सहकारी, समूह र स्थानीय अवलोकनका लागि आउने गर्नुभएको छ।

उद्यानमा जडीबुटी र वनस्पति, सुगन्धित तेल प्रशोधन लगायतका विषयमा केन्द्रका कार्यालय प्रमुख एवम् वरिष्ठ वैज्ञानिक अधिकृत रघुराम पराजुलीले जानकारी दिनुभयो । विभिन्न विषयका विद्यार्थी वनस्पति अनुसन्धान केन्द्रमा ज्ञान हासिल गर्न पुग्ने गर्नुभएको छ । वन विज्ञान (फरेस्ट्री), वनस्पति विज्ञान (बोटानी), फार्मेसी र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) मा अध्ययन गर्ने विद्यार्थी शैक्षिक भ्रमण, अध्ययन र घुम्नका लागि आउने गरेको उहाँको भनाइ छ । वनस्पति उद्यान, नमुना संरक्षण, जीवित बिरुवा र विभिन्न नमुना सूचना केन्द्रमार्फत विद्यार्थीलाई जानकारी उपलब्ध गराउने गरेको उहाँले बताउनुभयो । यहाँ आउने विद्यार्थीलाई बिरुवा पहिचान गर्न, बिरुवाको वैज्ञानिक नाम र वनस्पतिसम्बन्धी जानकारी प्रदान गर्न सहजीकरण गर्ने गरेको उहाँको भनाइ छ ।     

कार्यालय प्रमुख पराजुलीका अनुसार मकवानपुर, काठमाडौँ, चितवन, इलाम, महोत्तरी, जुम्ला, दाङ, पोखरा, नवलपरासी, रुपन्देही, भैरहवा लगायतका स्थानबाट यहाँ आउने गर्नुभएको हो । लोप हुँदै गएको, मासिएको बिरुवाका साथै यहाँ उनिउँको पनि संरक्षण एवम् अनुसन्धान गरिएकाले यहाँ आउने विद्यार्थी यसबारे जान्न थप उत्सुक हुनेगरेका छन् । पर्यावरणीय सुन्दरता, चराचुरुङ्गीको धुन, आनन्ददायी वातावरणका कारणले पनि उद्यानमा अवलोकन, भ्रमण गर्नेको आकर्षण बन्दै गएको छ ।