• ११ मंसिर २०८१, मङ्गलबार

ग्वाङ्जाओ र ल्हासाको समस्या समाधान गर्न आग्रह

blog

नेपाली व्यापारी व्यवसायीले भोग्नुपरेको समस्या समाधानका लागि सुझावपत्र हस्तान्तरण गर्दे नेपाल हिमालय सीमापार वाणिज्य सङ्घका अध्यक्ष रामहरि कार्की ।

चित्र मिजार

सिन्धुपाल्चोक, कात्तिक १३ गते । नेपाल हिमालय सीमापार वाणिज्य सङ्घले चीनको ग्वाङ्जाओ प्रान्त र ल्हासा प्रान्तका महावाणिज्यदूतहरुलाई नेपाली व्यापारी व्यवसायीले चीनमा भोग्नुपरेको समस्या समाधानमा लाग्न आग्रह गरेको छ ।

उक्त सङ्घका अध्यक्ष रामहरि कार्कीले ग्वाङजाओ प्रान्तका महावाणिज्यदूत भरत खनाल र ल्हासा प्रान्तका महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौलालाई व्यापारिक कारोबारमा भोग्नुपरेका समस्या समाधानका लागि उहाँहरुलाई सुझावपत्रसहित आग्रह गरिएको जानकारी दिनुभयो ।

सो सङ्घमा आबद्ध व्यापारी व्यवसायीले उत्तरी नाका तातोपानी र रसुवा नाकाबाट चीनसँग व्यापारिक सामान आयात गर्दै आएका छन् । त्यसक्रममा द्विपक्षीय व्यापार विस्तार गरिनुपर्ने, गैर भन्सार अवरोधको न्यूनीकरण गरिनुपर्ने, पारवहन तथा यातयातको सहजीकरण, बजार प्रर्वद्धन गरिनुपर्ने, व्यापारी तथा उद्यमीको लागि नेतृत्वदायी भूमिका हुनुपर्ने, ढुवानीलाई सहज बनाउनुपर्ने, नेपाली नागरिकले भोग्नुपरेको समस्या समाधानका लागि पहल गरिदिन महावाणिज्यदूतद्वयलाई सुझावसहित आग्रह गरिएको अध्यक्ष कार्कीले बताउनुभयो । 

चीनियाँ क्षेत्रमा भोग्नुपरेको समस्याका साथै नेपालतर्फको सडकको अवस्था जीर्ण हुँदै गएकोले नेपाल सरकार र चीन सरकारलाई स्तरोन्नति गरिदिन उहाँले आग्रह गर्नुभएको छ ।

त्यस्तै उक्त सङ्घका वरिष्ठ उपाध्यक्ष गङ्गाबहादुर घिमिरेले ग्वाङ्जाओ प्रान्तबाट सबैभन्दा बढी व्यापारिक कारोबार हुने हुँदा सो प्रान्तमा नेपाली व्यापारीहरुले बैंक खाता खोल्न नपाउने भएकोले बैंक खाता खोल्ने प्रावधानका लागि चीन सरकारसँग पहल गरिदिन महावाणिज्यदूतसँग अपिल गर्नुभयो । 

महासचिव रामचन्द्र पराजुलीलेले महावाणिज्यदूतहरुलाई ग्वाङ्जाओमा हुने ट्रेड मेलामा नेपाली सामानको प्रदर्शनीको व्यवस्था मिलाउन अनुरोध गर्नुभएको छ । सचिव आङदोर्जे शेर्पाले दुवै प्रान्तबाट नेपाली व्यापारीहरुले ढुवानी गरेको सामान तातोपानी र रसुवा भन्सारसम्म नै ४० फुटे कन्टेनरबाट ल्याउने वातावरण मिलाउन महावाणिज्यदूतहरुसँग आग्रह गर्नुभएको छ । महावाणिज्यदूतद्वय खनाल र निरौलाले व्यापारी व्यवसायीको समस्या समाधान गर्नका निम्ति चीनियाँ सरकार र नेपाल सरकारसँग पहल गर्ने प्रतिबद्धता गर्नुभएको छ ।