• ११ मंसिर २०८१, मङ्गलबार

कागजात क्षति भएपछि प्रशासनिक काममा समस्या

blog

पुनः प्रयोगमा ल्याउनका लागि घाममा सुकाइएका कागजात र अन्य सामग्री । तस्बिर : केदार तिमल्सिना

केदार तिमल्सिना 

बनेपा, कात्तिक ११ गते । असोज दोस्रो साता आएको बाढीका कारण काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिकामा रहेका सबै कागजातमा क्षति पुगेपछि सेवा प्रवाहमा समस्या भएको छ । असोज १२ गते आएको बाढी गाउँपालिकाको कार्यालयभित्र पसेपछि गाउँपालिकामा रहेका ९८ प्रतिशत कागजात नष्ट भएका छन् । 

बेथानचोक गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारीले असोज १२ गते आएको बाढीका कारण गाउँपालिका कार्यालयभित्र रहेका ९८ प्रतिशत कार्यालय प्रयोजनका काजगात, कम्प्युटर, प्रिन्टरलगायतका इलेक्ट्रोनिक्स सामग्री, फर्निचरमा क्षति पुगेको बताउनुभयो ।

“अविरल वर्षाका कारण दुर्लुङ खोला र पाट्ने खोलामा आएको बाढी गाउँपालिकाको प्रशासनिक भवनमा छिरेर कार्यालयको एक तला लेदो र पानीले भरिएका कारण कार्यालयभित्र रहेका कागजात, फर्निचर, विद्युतीय सामग्रीमा क्षति पुग्यो,” प्रमुख प्रशासकीय अधिकृत भण्डारीले भन्नुभयो । उहाँका अनुसार बाढी साम्य भएपछि कार्यालयमा रहेका कागजात, सामग्री झिकेर हेर्दा एउटा कम्प्युटर मात्रै चल्ने अवस्थामा र दुई प्रतिशत जति काजगात मात्रै काम लाग्ने देखिएको छ । अहिले त्यही एउटा कम्प्युटर, कर्मचारी साथीको व्यक्तिगत ल्यापटपबाट कार्यालयको काम सामान्य काम भइरहेको छ । हिलोबाट निकालिएका कागजात पनि काम लाग्छ कि भनेर खोज्ने काम भइरहेको प्रमुख प्रशासकीय अधिकृतले बताउनुभयो ।

उहाँले बाढीले कार्यालयमा रहेका कागजात नष्ट भएका कारण अघिल्लो आर्थिक वर्षको भुक्तानी दिनुपर्ने करिब सात करोड रुपियाँ रकम भुक्तानी गर्न समस्या भएको बताउनुभयो । भण्डारीले भन्नुभयो, “कहाँ कहाँ कति रकम खर्च भयो भन्ने कुरा त ‘सिस्टम’ मा आउँछ तर बाढीका कारण कार्यालयमा रहेका ‘सपोर्टिङ’ काजगात नष्ट भएका कारण भोलि लेखा परीक्षण गर्ने समयमा प्रमाण पेस गर्न र सम्बन्धित योजनाको निर्माण व्यवसायी र उपभोक्ता समितिलाई भुक्तानी दिन भने समस्या देखिएको छ ।”

उहाँले गाउँपालिकाको प्रशासनिक भवन मर्मत तथा रङरोगन, बाढीले पुरिएका कागजात र फर्निचर सुकाउने काम भइरहेको भन्दै नागरिकलाई राम्रोसँग सेवा प्रवाह गर्नका लागि तिहारपछि मात्रै सकिने बताउनुभयो । उहाँले गाउँपालिकाको विपत् व्यवस्थापन कोषमा भएको डेढ करोड रुपियाँबाट सबै क्षेत्रको काम छिटो गर्न सकिएको बताउनुभयो । 

उहाँले विपत्पछि सडकलगायतको काम गर्नका लागि ७० लाख रुपियाँ बराबरको इन्धन प्रयोग भइसकेको बताउनुभयो । अहिलेसम्म सङ्घीय सरकारले एक करोड रुपियाँ दिने भने पनि रकम नआएका कारण काम गर्न नसक्ने अवस्थामा पुगेको बताउनुभयो ।