• १० मंसिर २०८१, सोमबार

राजनीतिक स्थिरताका लागि सामाजिक सद्भाव : देउवा

blog

गोरखापत्र समाचारदाता 

काठमाडौँ, कात्तिक ११ गते । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राजनीतिक स्थिरता र स्थायित्वका लागि सामाजिक सद्भाव र एकता अपरिहार्य रहेको बताउनुभएको छ । 

कांग्रेस काठमाडौँ महानगर कार्यसमितिले तिहार, नेपाल संवत् ११४५ तथा छठ पर्वका सन्दर्भमा शनिबार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले शान्ति र समुन्नतिका लागि समाजका सबै वर्ग र समुदाय एकताबद्ध हुनुपर्ने बताउनुभएको हो । 

उहाँले सबैको अधिकार सुनिश्चित गर्दै समावेशी, समानुपातिक व्यवस्था संविधानमै लेखिएकाले अब समुन्नतिका लागि काम गर्नुपर्ने बताउनुभयो । उहाँले कांग्रेसलाई आन्तरिक एकतामार्फत सुदृढीकरण गर्नुपर्ने र यसका लागि सबै नेता कार्यकर्ता लाग्नुपर्ने बताउनुभयो । 

उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री तथा कांग्रेस नेता प्रकाशमान सिंहले सरकारले एक सय दिन सफलतापूर्वक सम्पन्न गरेको बताउँदै अब अझै प्रभावकारी रूपमा काम अघि बढाउने प्रस्ट पार्नुभयो । उहाँले भन्नुभयो, “सरकारले एक सय दिनमा सङ्क्रमणकालीन न्याय निरूपण गर्नेदेखि विधि र सुशासनसम्मका काम गरेको छ ।” मन्त्री सिंहले सुशासन र विधि स्थापित गर्न सरकार सफल भएको बताउनुभयो । उहाँले कांग्रेस र नेकपा (एमाले) को गठबन्धन सरकारले देशलाई समुन्नति र समृद्धिको बाटोमा अघि बढाउने बताउनुभयो ।