• १२ कात्तिक २०८१, सोमबार

रवि र छविमाथि तीन अभियोगमा अनुसन्धान जारी

blog

फडिन्द्र अधिकारी

लेखनाथ, कात्तिक ११ गते । पूर्वगृहमन्त्री एवं रास्वपा सभापति रवि लामिछाने र पूर्वप्रहरी नायब महानिरीक्षक छविलाल जोशीमाथि तीन कसुरमा एकसाथ अनुसन्धान जारी छ । गोरखा मिडिया प्रालिका पूर्वप्रबन्ध निर्देशक लामिछाने र पूर्वउपाध्यक्ष जोशीविरुद्ध कास्की प्रहरीले सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणमा कास्कीमा अनुसन्धान गर्दै छ ।

सहकारी ठगी र सङ्गठित अपराध अभियोगमा कात्तिक २ गते काठमाडौँबाट पक्राउ पर्नुभएका लामिछाने र असोज ६ गते पक्राउ पर्नुभएका जोशीलाई बिहीबार कास्की जिल्ला अदालतले थप सात दिन थुनामा राखी अनुसन्धान गर्न अनुमति दिएको थियो । लामिछाने र जोशी आबद्ध गोरखा मिडियामा पोखरामा रहेको सूर्यदर्शन सहकारीबाट अवैधानिक रूपमा पाँच करोड ५८ लाख रकम गएको देखिएको छ । 

सूर्यदर्शन सहकारी प्रकरणका अनुसन्धान अधिकारी वसन्तकुमार शर्माले तीन अभियागमा अनुसन्धान जारी रहेको उल्लेख गर्नुभयो । “सहकारी ठगी र सङ्गठित अपराध अभियोगमा अनुसन्धान भइरहेकोमा अदालतले सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान गर्न अनुमति दिएको छ,” शर्माले भन्नुभयो, “अनुसन्धान सकिएर अभियोगपत्र पेस नहुन्जेल बयान र अनुसन्धान जारी रहन्छ ।”