• १० मंसिर २०८१, सोमबार

संसदमा उजुरी दिनेविरुद्ध अदालतमा मुद्दा

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, कात्तिक ११ गते । अदालतमा मिलापत्र भइसकेको विषयलाई गाली बेइज्जती गर्ने उद्देश्यले संसदीय सुनुवाइ समितिमा प्रवेश गराएको भन्दै कृष्णमान प्रधानले एक उजुरीकर्ताविरुद्ध मुद्दा दायर गर्नुभएको छ । उक्त महिलाको उजुरीकै आधारमा प्रधान निर्वाचन आयोगको आयुक्तमा प्रस्तावित भएर पनि अस्वीकृत हुनुभएको थियो ।

प्रधानले आफूविरुद्ध उजुरी गरेकी एक महिलाविरुद्ध काठमाडौँ जिल्ला अदालतमा गाली बेइज्जती मुद्दा दर्ता गर्नुभएको हो । प्रधानको वारेसमा सरस्वती डङ्गोल सिंहले मुद्दा दर्ता गर्नुभएको हो । उहाँले प्रतिवादीसँग १० करोड रुपियाँ क्षतिपूर्ति माग गर्नुभएको छ । यस्तै मुद्दाका क्रममा लाग्ने खर्च पाँच लाख रुपियाँसमेत भराउने आदेशको माग पनि उहाँले गर्नुभएको छ । 

द्विपक्षीय सहमतिमा टुङ्गिएको र मिलापत्रको सहमतिविपरीत उजुरी गरेको भन्दै प्रधानले मुद्दा दर्ता गर्नुभएको हो । काठमाडौँ जिल्ला अदालतका अनुसार प्रतिवादीलाई म्याद पठाइए पनि मुद्दाको थप प्रक्रिया अघि बढेको छैन । प्रधान र एक महिलाबिच यसअघि दुवै पक्षबाट अदालतमा परेका मुद्दामा २०८० भदौ २९ मा मिलापत्र भएको थियो । आरोपका विषयमा कुनै निकायमा उजुर नगर्ने गरी सहमति भए पनि सुनुवाइ समितिमा उजुरी दिइएको भन्दै प्रधानले मुद्दा दर्ता गर्नुभएको हो । प्रधानले दायर गर्नुभएको गाली बेइज्जती र उहाँविरुद्धको यौन दुव्र्यवहारको मुद्दा मिलापत्र भएको थियो । 

सुनुवाइ समितिमा अस्वीकृत भएको दुई महिनापछि प्रधानले अदालतमा मुद्दा दायर गर्नुभएको हो । सुनुवाइ सम्पन्न भई निर्णयको प्रक्रियामा रहेकै अवस्थामा प्रधानले प्रक्रियाबाट अलग हुने निवेदन दिनुभएको थियो । निवेदनको जानकारी लिए पनि समितिले प्रधानलाई सर्वसम्मत रूपमा प्रस्तावित पदमा अस्वीकृत गरेको थियो ।