• १० मंसिर २०८१, सोमबार

सरुवा रोग अस्पताल भवन निर्माण हुँदै

blog

लुम्बिनी प्रादेशिक सरुवा रोग अस्पतालको निर्माणाधीन भवन । तस्बिरः जानु पाण्डे

जानु पाण्डे

कपिलवस्तु, कात्तिक १० गते । जग्गा प्राप्तीको विवादले अलपत्र परेको लुम्बिनी प्रदेश सरुवा रोग अस्पताल भवन निर्माणको कामले गति लिएको छ । प्रदेशसभा सदस्य अर्जुनकुमार केसीको पहलमा लुम्विनी प्रदेश सरकारले जग्गा प्राप्तिको प्रक्रिया पूरा गरेपछि भवन निर्माणको काम सञ्चालनमा आएको छ । 

शिवराज नगरपालिका –५ चन्द्रौटामा निर्माण भएको ५० शैय्या अस्पतालको फाउन्डेशन निर्माण, पहिलो तल्लाको पिल्लर र इँटाको गारो लगाउने काम सञ्चालनमा रहेको छ । 

प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री अर्जुनकुमार केसीले सङ्घीय सरकारले कोभिडपछि सबै प्रदेशमा अत्याधुनिक सरुवा रोग अस्पताल निर्माण गर्ने नीति तथा बजेट बमोजिम निर्माण भइरहेको बताउनुभयो । 

प्रदेश सरकारले जग्गाबापत आउने रकम शोधभर्ना गरेसँगै निमार्णको प्रक्रिया सुरु भएको थियो । दुई वर्षभित्र भवन निर्माण सम्पन्न गर्ने लक्ष्य राखेर काम भइरहेको सदस्य केसीले बताउनुभयो ।

स्काई सगुन जेभी बुटवलले जेठको दोस्रो साताबाट काम सुरु गरेको थियो । तीन महिनामा २० प्रतिशत काम सम्पन्न भएको जेभीका इन्जिनियर निशान्त मण्डलले बताउनुभयो । अस्पताल भवनको ६ वटा ब्लक अन्तर्गतका काम भएका छन् । फाउन्डेशन निर्माण, पिलर र गारो लगाउने काम चलेको छ । 

विवादका कारण निर्माणमा ढिलाइ भए पनि निर्धारित समयमा सक्ने योजनाका साथ काम चलेको मण्डलको भनाइ थियो । अस्पताल भवन निर्माणको कुल लागत २० करोड ९६ लाख ३ हजार ३ सय २६ रुपियाँ रहेको छ । सरकारले सरुवा रोग अस्पताल निर्माणका लागि ९ बिघा जग्गा प्रदान गरेको छ । 

जग्गा प्राप्तिमा ढिलाइ भएको कारण ठेक्का लागेको १३ महिनासम्म भवन निर्माण काम रोकिएको थियो । अस्पताल सञ्चालनले शिवराज क्षेत्रलाई नयाँ शहरको रुपमा विकास गर्ने व्यापार संघ कपिलवस्तुका अध्यक्ष महादेव पोख्रेलले बताउनुभयो ।