• १० मंसिर २०८१, सोमबार

उत्तरबाहिनीमा धार्मिक महोत्सव

blog

मातापिता पूजन एवं गण्डकी शालग्राम दामोदर महोत्सवको शुभारम्भ गरिँदै । तस्बिरः राधाकृष्ण डुम्रे

राधाकृष्ण डुम्रे 

वालिङ, कात्तिक १० गते । स्याङ्जाको कालीगण्डकी उत्तरबाहिनीमा धार्मिक महोत्सव सुरु भएको छ । मातापिताप्रतिको सम्मान र सेवाभाव बढाउन तथा धार्मिक पर्यटनलाई प्रवर्धन गर्न महोत्सव गरिएको हो । 

कालिगण्डकी ज्ञानविज्ञान प्रतिष्ठानको आयोजनामा ‘मातापिता पूजन एवं दामोदर महोत्सव’ सुरु भएको छ । स्याङ्जाको गल्याङ नगरपालिका –१ मालुंगा र पाल्पाको रम्भा गाउँपालिका–१ असेर्दीमा रहेको उत्तर बाहिनीमा महोत्सव सञ्चालन गरिएको प्रतिष्ठानका अध्यक्ष चैतण्यकृष्णले जानकारी दिनुभयो । 

महोत्सवको उद्घाटन गर्दै स्वामीनारायण मुक्तिनाथधामका पिठाधिश्वर लोकानन्द स्वामीजी महाराजले मातापिता साक्षात् भगवान् भएको बताउनुभयो । जीवित रहुन्जेल नै आफ्ना मातापिताका लागि सही हेरचाह गर्न आवश्यक रहेको उहाँको भनाइ छ । 

कालीगण्डकी नदी धार्मिक पर्यटनका लागि महत्त्वपूर्ण क्षेत्र भएको लोकानन्दजीले बताउनुभयो । जीवित रहेका आफ्ना मातापिताप्रतिको कर्तव्य बोध गराउँदै दिवङ्गत भइसकेको मातापिताप्रति श्रद्धाभाव जनाउन महोत्सव गरिएको अध्यक्ष चैतण्यकृष्णले बताउनुभयो । आफ्ना अभिभावकप्रतिको दायित्वबोध गराउँदै संस्कारयुक्त समाजको निर्माण गर्न महोत्सवको मुख्य लक्ष्य रहेको उहाँको भनाइ छ । 

कालीगण्डकी नदीको किनार उत्तर बाहिनीमा सन्ध्या आरतीको पनि शुभारम्भ गरिएको छ । गण्डकी दामोदर आरतीको शुभारम्भ गर्नुहुँदै गल्याङ नगरपालिकाका प्रमुख गुरुप्रसाद भट्टराईले धार्मिक पर्यटनका लागि पालिका नीतिगत र व्यावहारिक रूपमा काम गरिरहेको बताउनुभयो । 

कार्यक्रममा पूर्व सांसद शङ्करप्रसाद पाण्डेयले नेपालका धार्मिक, सांस्कृतिक सम्पदाको संरक्षणमा सबैले ध्यान दिनुपर्ने बताउनुभयो । धार्मिक महोत्सवमा मातापिताको प्रत्यक्ष एवम् मानसपूजन, विभिन्न महापुरुषद्वारा दिव्य प्रवचन, समग्र योग अनुशासन, प्राणायाम, ध्यान तथा साधना गरिने छ । २१ दिन अर्थात् कात्तिक ३० गतेसम्म मातापिता पूजन एवं गण्डकी शालिग्राम दामोदर महोत्सव हुने प्रतिष्ठानले जनाएको छ ।