• १० मंसिर २०८१, सोमबार

दक्ष खेल प्रशिक्षक उत्पादन गर्दै राप्तीसोनारी

blog

प्रशिक्षणमा सहभागि प्रशिक्षकहरु । तस्बिर : गोरखापत्र

कमल खत्री

धम्बोझी, कात्तिक १० गते । प्रतिभावान् खेलाडी उत्पादन गर्ने उद्देश्यले बाँकेको राप्तीसोनारी गाउँपालिकाले खेल शिक्षकलाई प्रशिक्षण दिने कार्यक्रमलाई जोड दिएको छ । 

गाउँपालिकाले खेल प्रशिक्षकको क्षमता अभिवृद्धि गर्नका लागि पाँच दिने प्रशिक्षण तालिम समेत गरेको छ । ‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ को मुख्य नाराका साथ गाउँपालिकाका विद्यालयहरूमा कार्यरत खेल शिक्षकहरूलाई भलिबल, एथलेटिक्स, कबड्डी लगायतका खेलहरूका बारेमा गत सोमबारदेखि पाँच दिने प्रशिक्षण तालिम सञ्चालन गरिएको थियो । 

गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेलले प्रशिक्षणको उद्घाटन गर्नु भएको थियो । राप्तीसोनारी खेलकुद विकास समिति, राप्तीसोनारी गाउँपालिकाको आयोजनामा सञ्चालित तालिमको समापनमा बोल्दै गाउँपालिका अध्यक्ष पौडेलले शैक्षिक क्रियाकलापलाई प्रभावकारी बनाउन पालिकाले आवश्यक कार्यक्रमहरू तयार गर्ने बताउनुभयो । 

शिक्षकहरूले सिकेको र पहिलादेखि भएको खेल प्रशिक्षण क्षमताले विद्यार्थीहरूलाई थप प्रोत्साहित गर्ने अध्यक्ष पौडेलले भनाई राख्नुभएको छ । उहाँले शिक्षकले चाहेको अवस्थामा विद्यार्थीलाई प्रेरित गर्नुका साथै सकारात्मक दिशातर्फ मोड्न सक्ने भएकाले प्रशिक्षकको स्थान सदैव उच्च रहेको धारणा राख्नुभयो ।

वडा नम्बर ८ का वडा अध्यक्ष सालिकराम डाँगीले शिक्षण कार्यका लागि यो दक्षता समेत जरुरी रहेकाले यस्ता दक्षताको वृद्धि तथा कार्यान्वयनमा स्वयं शिक्षकहरू पनि सक्रिय भइरहनुपर्ने बताउनुभयो । उहाँले स्थानीय सरकार पालिकाको शिक्षा क्षेत्रका लागि उपलब्धिमूलक ढङ्गले लागेको समेत जानकारी गराउनुभयो । 

राप्तीसोनारी गाउँपालिका खेलकुदको उर्वरभूमिका रूपमा रहेका र शिक्षकहरूले खेलकुदको आधारभूत कुराहरू सिकेको अवस्थामा विद्यार्थीहरूमा खेलकुदको क्षमता बढाउन प्रेरित गर्ने उद्देश्यले प्रशिक्षण कार्यक्रम गरिएको खेलकुद विकास समितिका संयोजक तेजबहादुर सुवेदीले बताउनुभयो । 

प्रशिक्षण तालिममा पालिकाका सबै तहका विद्यालयहरूका खेल शिक्षकहरूको सहभागिता रहेको थियो । प्रशिक्षणमा २ वटा निजी विद्यालयका शिक्षकहरू गरी २८ जना सहभागी रहेको गाउँपालिका शिक्षा शाखा प्रमुख जीवन न्यौपानेले जानकारी दिनुभयो । 

सहभागीहरूलाई एथलेटिक्सका प्रमुख प्रशिक्षक चन्द्र बहादुर गुरुङ, भलिबलतर्फ प्रकाश शर्मा, कबड्डीको जनार्दन खत्री र तेक्वान्दो प्रशिक्षकलाई जंगदिप चौधरीले प्रशिक्षण दिनु भएको थियो ।